मलेसिया विरुद्ध नेपाल १९ रनले विजयी

एजेन्सी

शनिबार, १६ भदौ २०७५, १५ : ३७
मलेसिया विरुद्ध नेपाल १९ रनले विजयी

मलेसिया । मलेसियामा जारी एसीसी एसिया कप छनोट क्रिकेट खेलमा नेपालले मलेसियालाई  १९ रनले हराएको छ ।
बायुमास ओभलमा वर्षाले प्रभावित भएपछि ढिला गरी शुरु भएको खेलमा नेपालले निर्धारित ३० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।

नेपालले दिएको १ सय ८९ रनको लक्ष्य मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रनमात्र बनाउन सक्यो । मलेसियाका लागि मोहम्मद अनवरले ३४ रन बनाए । सैद अजिज मुवारक ले ३४ रन बनाए । अहमेद फैज नुरले २२ रन बनाए । भिरनदीपसिंह २१ रनमा आउट भए । मोहम्मद रम्लीले १३ रन बनाए । सरभिन मुनियान्डीले १० रन जोडे । नेपालका बसन्त रेग्मीले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान २ विकेट लिए । सागर पुन र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

नेपालको शुरुवाती ब्याटिङ कमजोर भएपनि मध्यक्रमका ब्याट्सम्यान आरिफ शेख र  दीपेन्द्रसिंह ऐरीले शतकीय साझेदारीको पारि खेलेपछि रन माथि उक्सिएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक नटआउट ६४ रन प्रहार गरे । उनले ४८ बलमा ६४ रन बनाएका हुन् । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले छनोट खेलमा पहिलो अर्धशतक मलेसिया विरुद्ध पूरा गरेका छन् । उनले ५१ बलमा ५४ रन बनाएका थिए । त्यस्तै, अनिल शाहले १६ रन, कप्तान पारस खड्काले १३ र उपकप्तान ज्ञानेन्द्र मल्लले ११ रन बनाएका थिए ।
मलेसियाका सर्भिन मुनियान्डी र सैजरुल इजादले समान ३ विकेट लिए । मोहम्मद अनवर रहमनले १ विकेट लिए ।  नेपाल यसअघि ओमान र युएईंसँग पराजित भएको थियो ।  मलेसियामाथिको जितसँगै नेपालले छनोटको फाइनल पुग्ने सम्भाना जीवितै राखेको छ । छनोटको फाइनल जित्ने टोलीले एसिया कपमा स्थान बनाउनेछ ।

 

प्रतिक्रिया दिनुहोस