नेपालले पाकिस्तानलाई दियो एक सय ५३ रनको लक्ष्य

सफल खबर संवाददाता

शुक्रबार, २२ मंसिर २०८०, १५ : २३
नेपालले पाकिस्तानलाई दियो एक सय ५३ रनको लक्ष्य

काठमाडौँ । एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई एक सय ५३ रनको लक्ष्य दिएको छ । यूएईमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४७ ओभर २ बलमा एक सय ५२ रन बनाउँदा अलआउट भयो । नेपालका विकेट किपर उत्तम थापा मगरले अर्धशतक बनाए । उनी ७६ बलमा ५१ रन बनाएर आउट भए ।

त्यस्तै दिपेश कँडेल ३१ र अर्जुन कुमाल २१ रनमा आउट भए । सुवास भण्डारी ८ रनमा, विपिन रावल ७ रनमा, आकाश त्रिपाठी ६ रनमा, आकाश चन्द ५ रनमा, गुलशन झा र विशाल विक्रम केसी समान एक रनमा तथा कप्तान देव खनाल १३ बलमा शून्य रनमा आउट भए ।

पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद जिशानले ६ विकेट लिए । अमिर हसनले दुई विकेट लिए । पाकिस्तानले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ । प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा घरेलु टोली यूएई, जापान, श्रीलङ्का र बङ्गलादेश छन् ।

नेपालले दोस्रो खेल पर्सि आइतबार अफगानिस्तानसँग र तेस्रो खेल २६ गते भारतसँग खेल्नेछ । मंसिर २९ गते सेमिफाइनल खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस