धर्मशाला उद्घाटनपछि मोदीले भने– ‘नेपालको लुम्बिनीले गौतम दियो भारतको बोधगयाले बुद्ध दियो’

शुक्रबार, १५ भदौ २०७५, २० : ३०
धर्मशाला उद्घाटनपछि मोदीले भने– ‘नेपालको लुम्बिनीले गौतम दियो भारतको बोधगयाले बुद्ध दियो’

काठमाडौँ । भारतको लागतमा पशुपतिनाथ क्षेत्रमा बनेको धर्मशाला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
शुक्रबार ३९८ शय्याको धर्मशाला दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । यस धर्मशाला कूल २० करोड लागतमा बनेको बताइएको छ ।
दस हजार ६ सय २५ वर्ग्मिटर क्षेत्रफलमा फैलिएको यस धर्मशाला तीन तलाको छ । जहाँ एक बेड, दुई बेड, चार बेड, १० बेड र १२ बेडका कोठाहरु छन् ।
सन् २०१६ को सेप्टेम्बरमा सुरु भएको उक्त धर्मशाला शुक्रबार भारत सरकारले पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको हो । कोषले नै पशुपतिनाथ मन्दिर दर्शनमा आउने तीर्थालुलाई धर्मशालामा राख्ने व्यवस्था गर्नेछ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको लुम्बिनीले गौतम दिएको र भारतको बोधगयाले बुद्ध दिएको बताएका छन् । शुक्रबार काठमाडौको पशुपतिनाथस्थित नेपाल भारतमैत्री धर्मशालाको संयुक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्री मोदीले काठमाडौं पशुपतिनाथको शहर भएपनि बौद्धका अनेक स्थानबाट घेरिएको र एकदमै अन्योन्याश्रित सम्बन्ध विकास भएकोप्रति खुसी समेत व्यक्त गरे । प्रधानमन्त्री मोदीले भने, ‘नेपालको लुम्बिनीले गौतम दियो भारतको बोधगयाले बुद्ध दियो । पशुपतिनाथको यो शहर वौद्धको अनेक स्थानबाट घेरिएका छन् । यो एकदम जोडिएको छ, अन्यौन्याश्रित रहेको छ ।’ 
प्रधानमन्त्री मोदीले नेपाल र भारतबीच समय, दूरी र कठिन मार्गले पनि सम्बन्धमा बाधा पार्न नसकेको बताउँदै यो सम्बन्ध दिर्घकालीन रुपमा रहनुपर्ने बताए । उनले भने– ‘कन्यापुरी र काठमाण्डौको दुरी हजारौ किमी रहेको छ तर तमिलनाडुमा अहिले पनि पशुपतिको मन्दिरको स्थान रहेको छ । काशी र काठमाण्डौलाई बाबा विश्वनाथ र पशुपतिनाथले जोड्छ, म त सोमनाथको भूमिमा जन्मेको हुँ, अब सोमनाथबाट विश्वनाथ तथा पशुपतिनाथलाई शिवले जोडेको छ ।’ प्रधानमन्त्री मोदीले अयोध्यालाई जनकपुरले जोडेको समेत बताए ।
उनले भारत नेपाल मैत्री धर्माशाला एक भवन र कुनै यात्रीहरुको लागि निवासस्थल मात्र नभई दुबै देशका जनताको मनमा नेपाल र भारतबीचको मित्रता गुन्जिने स्थान भएको बताए । उनले भने–‘यहाँबाट जो घर फर्किन्छ त्यो मनमा गुन्जिरहन्छ ।’ प्रधानमन्त्री मोदीले धार्मिक पर्यटनको विकास गर्न सके यसले आर्थिक विकासमा टेवा पुर्याउने बताए ।उनले जीवनमा एकपटक पशुपतिनाथको दर्शन गर्न आउनैपर्ने बताउँदै शिवभक्तको मनमा सँधै त्यो इच्छा रहिरहने समेत बताए । त्यसैले पनि आफुले केही समयअघि नेपालका तीन धार्मिकस्थल पशुपतिनाथ, मुक्तिनाथ र जनकपुर पुगेको दाबी गरे ।  उनले भारतको विकासमा नेपालीहरुको ठूलो भूमिका रहेको समेत दाबी गर्दै भने, ‘त्यसैले हरेक भारतीयहरुलाई नेपालमा राजनीतिक स्थीरता रहेकोमा खुसी लागेको छ । मित्रको रुपमा भारतको सदभावना र सहयोग सधैं तपाईहरुसँग रहनेछ ।’
उनले काठमाडौं र दिल्लीबीच मात्र सम्बन्ध राम्रो भएर नहुने जनता–जनताबीचको सम्बन्ध समेत राम्रो हुनुपर्नेमा जोड दिए । उनले भने, ‘हामीहरुबीच सदियौं पुरानो सम्बन्ध छ । तर दुनियाँको कुनैपनि मुलुकहरुबीचको सम्बन्ध तबसम्म दिर्घकालीन हुँदैन जबसम्म जनता–जनता बीचको सम्बन्ध राम्रो हुँदैन, काठमाण्डौं र दिल्ली बीचमात्र सम्बन्ध राम्रो भएर केही हुँदैन ।’

यस्तो छ धर्मशाला 
भारत सरकारको २२ करोड रुपैयाँ अनुदानमा निर्माण भएको नेपाल भारत मैत्री धर्मशालामा ४ सय बेड रहेको छ । पशुपति मन्दिर क्षेत्रको १० हजार ६ सय २५ वर्ग्मिटरमा निर्माण भएको धर्मशाला तीन तलाको छ । धर्मशालामा एक बेड, दुई बेड, चार बेड, १० बेड र १२ बेडका कोठाहरु रहेका छन् । त्यस्तै भान्छा कोठा, भोजन हल, पुस्तकालय, बहुउद्देश्यीय हल, पानी प्रशोधन केन्द्र, सोलार र जेनेरेटर पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस