फिफा विश्वकप छनोट : ब्राजिलमाथि अर्जेन्टिनाको जित

एजेन्सी

बुधबार, ०६ मंसिर २०८०, १० : ३७
फिफा विश्वकप छनोट : ब्राजिलमाथि अर्जेन्टिनाको जित

काठमाडौं । तनावपूर्ण बनेको खेलमा अर्जेन्टिनाले १० खेलाडीमा सिमित घरेलु टोली ब्राजिललाई १–० ले हराएको छ। 

फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको यो पाँचौं जित हो। खेलको ६३औं मिनेटमा रक्षक निकोलास ओटामेन्डीको गोलमा अर्जेन्टिनाले अग्रता बनाएको थियो। 

यसअघि दुबै टोलीका समर्थकबीच हानाहान हुँदा खेल आधा घण्टा ढिला सुरू भएको थियो। भ्रमणकारी टोलीका समर्थकलाई प्रहरीले कुटेको भन्दै अर्जेन्टिना खेलाडीले मैदान छाडेका थिए। दुई पक्षको झडप साम्यपार्न पुलिसले लाठी चार्ज गर्नुपरेको थियो।

दोस्रो हाफमा घरेलु टोली ब्राजिलले गोलका धेरै अवसर बनाएपनि सदुपयोग गर्न सकेन। केही राम्रो प्रहार अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले बचाएका थिए।

एन्जल डि मारियालाई स्थान दिँदै मेसी ७८औं मिनेटमा मैदान छाडेका थिए। मैदान भित्रसमेत खेल तनापूर्ण स्थितिमा रह्यो। खेलको ८१औं मिनेटमा ब्राजिल १० खेलाडीमा सिमित भयो। ब्राजिलका जोइलिन्टनले सिधै रातो कार्ड पाए।

अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डि पाउललाई हातले हानेपछि न्युक्यासल युनाइटेडबाट ब्यवसायिक खेल खेलिरहेका २७ वर्षीय खेलाडीलाई सिधै रातो कार्ड दिइएको थियो।

जितपछि अर्जेन्टिना ६ खेलबाट १५ अंकसहित शीर्षस्थानमा छ । ब्राजिल ७ अंकसहित छैटौं स्थानमा रह्यो। १३ अंक जोडेको उरुग्वे दोस्रो स्थानमा छ।