रामेछाप । धार्मिक तथा पर्यटकीय स्थल शैलुङ घुम्न आउने पर्यटकको संख्या क्रमशः बढ्दै गएको छ । रामेछाप र दोलखाको सिमानामा रहेको शैलुङ घुम्न केही वर्ष यतादेखि बाह्रै महिना पर्यटकहरू आउने गरेका छन् । वर्षा याममा भन्दा हिउँदमा शैलुङबाट रमणीय दृश्यावलोकन गर्न पाइने भएको कारण शैलुङ घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको संख्या पछिल्लो समय बढ्दै गएको छ ।
शैलुङ खोलाखर्क होमस्टे बजार तथा पर्यटन प्रवर्धन समितिका अध्यक्ष दावासङ्बु शेर्पाका अनुसार गएको हिउँददेखि यस पटकको दशैँ तिहारसम्म करिब ५० हजार पर्यटक शैलुङ घुम्न आएका छन् ।
यो वर्ष पर्यटकको संख्या दोब्बर हुने अनुमान शेर्पाको छ । उनले होमस्टे सधैँ नै भरिने गरेको सुनाए ।‘आज पनि शैलुङका सबै होमस्टे प्याक छन् । तीज, दशैँ, हिउँदमा हिउँ परेको बेला तथा नयाँ वर्षमा मानिसहरूको ठुलो भिड लाग्ने गर्दछ । त्यति बेला त मेला जस्तै हुन्छ, टेक्ने ठाउँ हुँदैन’, शेर्पाले भने ।
सुन्दर हिमालको दृश्यावलोकनका साथै हिउँ खेल्न र चौँरी हेर्न पर्यटकहरू शैलुङ पुग्ने गर्दछन् । चैत–वैशाखमा फुल्ने विभिन्न थरिका गुराँसले शैलुङलाई मनमोहक बनाउने गर्दछ । त्यस्तै वर्षामा फुल्ने विभिन्न जातका भुईँ फूलले पर्यटकलाई त्यतिकै लोभ्याउँछ । यस बाहेक हिन्दु र बौद्धधर्मालम्बीहरु शैलुङको धार्मिक यात्रामा जाने गर्दछन् । शैलुङलाई यी दुवै धर्मावलम्बीले तपोभूमिको रूपमा लिने गर्दछन् ।
शैलुङसम्म पुग्ने सडक निर्माण र प्रचार बढ्दै गएपछि पर्यटक बढेका छन् । अहिले शैलुङमा नेपालका अधिकांश भागका साथै विदेशी पर्यटक पनि आउन लागेका शेर्पाले बताए ।
‘विदेशी पनि बाक्लै आउँछन्, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे लगायतका जिल्लाबाट आउनेको संख्या अधिक छ । तराई र इण्डियाबाट पनि मानिस आउँछन्’, शेर्पाले भने ।
सय लुङ अर्थात् सय वटा थुम्काबाट शैलुङको नामाकरण भएको हो । प्राकृतिक रूपमा उत्पत्ति भएका एक सय भन्दा बढी थुम्का शैलुङमा छन । थुम्काहरूमा गलैँचा ओछ्याएझैँ दुबोले ढाकाको छ । हिउँदमा ती थुम्कालाई हिउँले ढाक्दा अझ मनोरम देखिन्छ ।
समुन्द्री सतहदेखि ३३ सय मिटर उचाइमा रहेको शैलुङमा सधैँ चिसो हुन्छ । हिउँदमा हिउँ पर्ने शैलुङमा बर्खामा पनि चिसो हावा चल्छ । त्यही चिसो मौसममा चौँरी चरेको दृश्य निक्कै मनमोहक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०२ मंसिर २०८०, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’
निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी
मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक
इंग्ल्याण्डबाट घुम्न आएका पर्यटक मृत भेटिए
नयाँ वर्षसँगै बढ्यो पर्यटकको चहलपहल, व्यवसायी उत्साहित