सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री पाण्डे

सफल खबर संवाददाता

शुक्रबार, ०१ मंसिर २०८०, १९ : ५६
सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री पाण्डे

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी अस्पतालको उद्घाटन समारोहमा आज सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कार्ययोजना बनाएको बताए । 

मुख्यमन्त्री पाण्डेले भने, “सरकारले स्वास्थ्य क्षेत्रको बजेट घटाएको छैन । हामीले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेका छौँ ।” गण्डकी प्रदेशमा नौ सयभन्दा बढी डायलासिसका लागि पालो पखिर्नुपर्ने अवस्था रहेकामा अहिले त्यसलाई घटाएर दुई सय ५४ जनामा झारिएको मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

यो वर्षभित्र गण्डकी प्रदेशमा कुनै मिर्गौला बिरामीले डायलासिसका लागि पालो पखिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउँदै पाण्डेले सङ्घ सरकार र दातृ निकायको सहयोगमा त्यसलाई शून्यमा झार्ने प्रयत्न गरिने बताए । 

मुख्यमन्त्री पाण्डेले क्यान्सरका बिरामीलाई रु एक लाखसम्म उपचार खर्च दिने निर्णय गरिएको भन्दै दश वर्षभन्दा मुनिका बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सरकारी अस्पतालमा सेवा निःशुल्क दिने तयारीमा रहेको बताए । 

उनले भने, “स्वास्थ्य क्षेत्रमा केही काम गर्ने प्रयत्न गरेका छौँ, स्रोत र साधनको कमीका कारण सोचेजति गर्न सकेका छैनौँ ।”  फरक प्रसङ्गमा मुख्यमन्त्री पाण्डेले सङ्घीयताका विरुद्ध आवाज उठ्न थालेको बताउँदै सङ्घीयतालाई बलियो बनाउनुको विकल्प नभएको बताए । धेरै ठूलो बलिदानबाट सङ्घीयता आएकाले यसको सफल कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो । 

मुख्यमन्त्री पाण्डेले भने,“सङ्घीयताको कार्यान्वयनका लागि प्रधानमन्त्री प्रचण्डको योगदान रहनुपर्छ, उहाँकै कारण आज सङ्घीयता आएको हो ।”  परिवर्तनलाई प्रहार गर्न केही तत्त्व सक्रिय रहेको भन्दै उनले यसतर्फ सचेत रहनुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस