वर्ल्डलिङ्कले प्राप्त गर्‍यो अन्तर्राष्ट्रिय स्तरको ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’

सफल खबर संवाददाता

विहीबार, ३० कार्तिक २०८०, १३ : २०
वर्ल्डलिङ्कले प्राप्त गर्‍यो अन्तर्राष्ट्रिय स्तरको ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’

काठमाडौं। देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले डिजिटल ट्रान्सफर्मेसन अवार्ड प्राप्त गरेको छ ।एसियन-ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसीओ)ले मङ्गलवार, १४ नोभेम्बर २०२३ दक्षिण कोरियाको सियोलमा आयोजित एक विशेष कार्यक्रम माझ कम्पनीलाई  उक्त अवार्ड प्रदान गरेको हो । ​

एसोसिओका अध्यक्ष ब्रेन सेनले उक्त अवार्ड वर्ल्डलिङ्कका निर्देशक लक्ष्मण यादवलाई हस्तान्तरण गरेका थिए ।कर्णालीलगायत देशका विभिन्न दुर्गम क्षेत्रमा उच्च गतिको इन्टरनेट पुर्‍याउन महत्त्वपूर्ण पूर्वाधार विकास गरी देशको डिजिटल रुपान्तरणमा योगदान पुर्‍याएको भन्दै कम्पनीलाई अवार्डले सम्मानित गरिएको हो ।

 

 

एसोसिओमा न्युजिल्यान्ड, जापान, अस्ट्रेलिया, भारत, सिङ्गापुर, चीन नेपाल लगायतका विभिन्न २४ देशका सूचना प्रविधि क्षेत्रका सङ्घसंस्था सदस्यको रूपमा रहेका छन् । यो अवार्ड हरेक वर्ष प्रत्येक सदस्य मुलुकको सेवा प्रदायकहरूलाई प्रदान गरिँदै आएको छ ।

वर्ल्डलिङ्कले यसअघि सन् २०१८ मा समेत एसोसियोको इन्टरनेसनल आउटस्ट्यान्डिङ युजर अर्गनाइजेसन अवार्ड बाट सम्मानित भइसकेको  छ । सन् १९९५ तिर नेपालमा भर्खर भर्खर इन्टरनेट सुरु भएको बेला ‘डिजिटल डिभाइड’ अर्थात् डिजिटल विभेदलाई कम गर्ने स्पष्ट उद्देश्यका साथ वर्ल्डलिङ्क बजारमा आएको थियो । 

शैक्षिक संस्था, व्यवसाय र आम सर्वसाधारणका लागि कनेक्टिभिटीको टुल उपलब्ध गराउँदै आएको कम्पनीले हाल इन्टरनेटको पहुँचबाट वञ्चित अति विकट तथा दुर्गम क्षेत्रमा समेत आफ्नो सेवा पुर्‍याएको छ । 

देशका आठ लखभन्दा बढी घरधुरीलाई इन्टरनेट सेवामा जोड्न सफल वर्ल्डलिङ्कको सेवा देशका हिमाली, पहाडी र तराई क्षेत्रसम्म फैलिएको छ । नेपालको इन्टरनेट सेवामा मेरुण्डको रुपमा स्थापित भएको वर्ल्डलिङ्कले नेपालको डिजिटल रुपान्तरणमा आफूलाई अग्र स्थानमा उभ्याउन समेत सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस