गाँजा तस्करीको केन्द्र बन्दै महोत्तरी

सफल खबर संवाददाता

आइतबार, २६ कार्तिक २०८०, १६ : ३५
गाँजा तस्करीको केन्द्र बन्दै महोत्तरी

जनकपुरधाम । महोत्तरी प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरेको छ । महोत्तरीको सम्सी गाउँपालिका–५, देवीस्थानमा सम्सीबाट जलेश्वरतर्फ गइरहेको एक ट्रकबाट गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ना०५ख ९७११ नम्बरको ट्रकबाट २ सय ९० किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीका अनुसार गाँजासहित ट्रक चालक मकवानपुर, बकैया गाउँपालिका–७ का २५ वर्षीय लिलाबहादुर थिङ्ग र सहचालक मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१३ बस्ने राजेश घलानलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले उक्त ट्रकलाई चेकजाँच गर्दा ट्रकको चालक बस्ने सिटको पछाडि रहेको फल्स बटनमा लुकाएर राखेको १९ वटा पोकामा २ सय ९० किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

महोत्तरीमा लगातार गाँजा बरामद भइरहेको छ । बढी मात्रामा गाँजाको खेती हुने मकवानपुर जिल्लाबाटै आयात भइ भारततर्फ लैजाने क्रममा धनुषा तथा महोत्तरीको विभिन्न भागबाट पटकपटक गाँजा बरामद भइरहेको छ ।

केही दिनअघि मात्रै महोत्तरीबाटै ४ सय ५ किलो गाँजा प्रहरीले बरामद गरेको थियो । २७ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा प्रहरीले महोत्तरीको जलेश्वर नगरपालिका–१, क्याम्पस रोडबाट बरामद गरेको थियो । गाँजासहित मकवानपुर जिल्लाकै थाहा नगरपालिका वडा नम्बर २ का २२ वर्षीय विशाल थिङ पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस