प्राधिकरणले काट्यो महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन

सफल खबर संवाददाता

बुधबार, २२ कार्तिक २०८०, २० : १९
प्राधिकरणले काट्यो महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले समयमै विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । विद्युत् लाइन काटेर करिब ५० करोड रुपैयाँ असुल गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाइने बताए । असुलउपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरूले महसुल नतिर्ने ग्राहकहरूको लाइन काटिरहेका छन् ।

विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औँ दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औँ दिनदेखि ३०औँ दिनसम्म ५ प्रतिशतका दरले र ३१औँ दिनदेखि ४०औँ दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ ।

मिटर रिडिङ भएको मितिले ४०औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औँ दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ । यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था विनियमावलीमा गरिएको छ ।

लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताहरूलाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ । विनियमावलीको यही प्रावधानको आधारमा मिटर रिडिङ भएको मितिले ६०औँ दिनसम्म पनि बक्यौता विद्युत् महसुल भुक्तान नगर्ने उपभोक्ताहरूको चरणबद्ध विद्युत् लाइन काटी बक्यौता महसुल असुलउपर गर्ने रणनीति लिइएको प्राधिकरण अन्तर्गतको वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ ।