पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखा अनिश्चितकालका लागि निलम्बित

सफल खबर संवाददाता

शुक्रबार, १७ कार्तिक २०८०, १६ : २९
पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखा अनिश्चितकालका लागि निलम्बित

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले कान्तिपुर प्रतिष्ठान शाखालाई अनिश्चितकालका लागि निलम्बन गर्दै कान्तिपुर मिडियाको व्यवस्थापनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

शुक्रवार बसेको नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठकले कान्तिपुर प्रतिष्ठान शाखाले महासङ्घको विधान विपरीत क्रियाकलाप गरेकोले अनिश्चितकालका लागि निलम्बन गरिएको महासचिव रोशन पुरीले जानकारी दिए ।

कुरा गर्दै महासचिव पुरीले भने– ‘कान्तिपुर प्रतिष्ठान शाखाले महासङ्घको विधान विपरीत क्रियाकलाप गरेपछि हामीले स्पष्टीकरण सोधेका थियौँ, शाखाले दिएको जवाफमा हामीलाई चित्त बुझेन । विधानको प्रतिकूल हुने खालको कुराहरू देखिसकेपछि थप आन्दोलनलाई अघि बढाउन शाखा निलम्बन गर्नुपर्ने आवश्यकताले हामीले तत्कालका लागि कान्तिपुर शाखालाई निलम्बित गरेका छौँ ।

कान्तिपुर व्यवस्थापनका विरुद्ध फेरि अर्को चरणको आन्दोलन गर्ने निर्णय भएको पनि पुरीले बताए । महासङ्घले आगामी मङ्सिर १० गतेसम्मका लागि आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको छ ।  कान्तिपुरमा सम्पादकीय स्वतन्त्रता नै सङ्कुचनमा परेको बताउँदै महासचिव पुरीले धर्ना लगायतका विभिन्न आन्दोलनका कार्यक्रम राखिएको जानकारी दिए ।

८२ जना पत्रकारहरूलाई कान्तिपुरले कानुन विपरीत निष्कासन तथा अवैध तरिकाले सरुवा गर्ने काम गरेको भन्दै पत्रकार महासङ्घले विभिन्न आन्दोलनका कार्यक्रमहरू गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस