संघीय संसदको चालू अधिवेशन अन्त्य

सफल खबर संवाददाता

शुक्रबार, १७ कार्तिक २०८०, ०७ : ००
संघीय संसदको चालू अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् । उनले गए राति १२ बजेबाट लागू हुने गरि अधिवेशन अन्त्य गरेका हुन् । त्यसको जानकारी बिहीबार बसेको संसद बैठकलाई पनि गराइएको थियाे ।

‘नेपालको संविधानको धारा ९३ को उपधारा (२)बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८० साल कात्तिक १६ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन २०८० साल कात्तिक १६ गते बिहीबार राति १२ बजेदेखि अन्त्य गरेको छु,’ राष्ट्रपति पौडेलले सभामुख देवराज घिमिरेलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

गत २४ वैशाखदेखि चालू अधिवेशन आरम्भ भएको थियो । १८० दिनको यस अवधिमा ६१ दिनमा प्रतिनिधिसभाका ६५ पटक बैठक बसेको थियो । जम्मा २४४ घण्टा ५० मिनेट ससंदीय काम कारबाहीमा व्यतीत भएको थियो ।

राष्ट्रिय सभातर्फ भने ३९ दिनमा ४८ वटा बैठक बसी ७१ घण्टा ११ मिनेट समय व्यतीत भएको थियो । यस अवधिमा संघीय संसदको संयुक्त सदनको जम्मा ६ वटा बैठक बसी ७ घण्टा ५ मिनेट समय व्यतीत भएको थियो ।

प्रतिनिधिसभाको यस अधिवेशनमा आठवटा सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता भएको थियो । जसमध्ये तीनवटा विधेयक संघीय संसदको दुवै सदनबाट पारित भएका छन् भने तीनवटा विधेयक समितिमा विचाराधीन छन् । त्यस्तै, २ वटा विधेयक सभामा प्रस्तुत मात्र भएका छन् भने एउटा विधेयक मात्र दर्ताको स्थितिमा रहेको छ ।

त्यसैगरी, राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधिसभामा प्राप्त ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ सभाबाट पारित भइसकेको छ भने ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ सम्बन्धित समितिमा विचाराधीन रहेको छ ।

सभाको पहिलो अधिवेशनमा राष्ट्रिय सभाबाट प्राप्त ७ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन नै रहेका छन् । यसरी सभाबाट आर्थिक विधेयक, २०८०, विनियोजन विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० र मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० साल गरी कुल चारवटा विधेयक पारित भएका छन् । बिहीबार मात्रै पारित भएको विद्युतीय विधेयक, २०८० को सन्देशसमेत प्रतिनिधिसभामा पठाइएको छ ।

नेपालको औपचारिक भ्रमणमा आएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले १४ कात्तिकमा बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए ।