मुद्दाको पेशी टरेपछि एभरग्रान्डेको शेयर मूल्यमा पहिरो

सफल खबर संवाददाता

सोमबार, १३ कार्तिक २०८०, १५ : २०
मुद्दाको पेशी टरेपछि एभरग्रान्डेको शेयर मूल्यमा पहिरो

हङकङ । चीनको समस्याग्रस्त रियल ईस्टेट कम्पनी एभरग्रान्डेको शेयर मूल्य सोमबार कीर्तिमानी न्यून स्तरमा ओर्लिएको छ । हङकङको एक अदालतमा विदेशी लगानीकर्ताहरुले कम्पनीलाई दिएको कर्जा भुक्तानीको विषयमा हालेको मुद्दाको सोमबारको पेशी सरेपछि कम्पनीको शेयर मूल्यमा पहिरो गएको हो ।

शुक्रबार बजार बन्द हुँदाको तुलनामा सोमबार एभरग्रान्डेको शेयर मूल्य २० प्रतिशतले घटेर प्रतिकित्ता १८ हङकङ डलर ६० सेन्टमा आएको थियो । बजार बन्द हुँदा भने शेयरमा केही सुधार देखिएको थियो । शुक्रबार शेयर बजारमा कारोबार बन्द हुँदा कम्पनीको शेयर प्रतिकित्ता २३ हङकङ डलर ६ सेन्टमा थियो ।

हङकङको उच्च अदालतकी न्यायाधीश लिन्डा चानले अक्टोबर ३० को पेशीलाई डिसेबर ४ मा सारेकी छिन् । सो मितिअघि एभरग्रान्डेले पुनःसंरचनाको संशोधित प्रस्ताव ल्याउनै पर्नेछ । नत्र कम्पनी बन्द हुने सम्भावना प्रबल हुनेछ । पछिल्लो समय कम्पनी एक पछि अर्को गर्दै संकटमा फसिरहेको छ । कर्जामा चुर्लुम्म डुबेको कम्पनीले पटक पटक ऋणको साँवा ब्याजको भुक्तानी गर्न सकेको छैन ।

सेप्टेम्बरको अन्त्यमा कम्पनीका निर्देशक र कार्यकारी अध्यक्ष पक्राउ परेका थिए । एभरग्रान्डेको समस्या अन्य प्रोपर्टी कम्पनीमा पनि पोखिन थालेको छ । असफल हुन दिनै नहुने गरी ठूलो एभरग्रान्डे अहिले चिनियाँ अधिकारीहरुको टाउको दुखाइको विषय बनेको छ । कम्पनी धराशायी बन्यो भने यसले समग्र चिनियाँ अर्थतन्त्रमा पार्ने प्रभावबारे अनेकौँ अड्कलबाजी आउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस