टी-२० विश्वकप छनोट: नेपालको विजयी शुरूआत, सिंगापुर आठ विकेटले पराजित

आईसीसी टी-२० विश्वकप छनोट

सफल खबर संवाददाता

सोमबार, १३ कार्तिक २०८०, १४ : १०
टी-२० विश्वकप छनोट: नेपालको विजयी शुरूआत, सिंगापुर आठ विकेटले पराजित

काठमाडौं। आईसीसी टी-२० विश्वकप छनोट प्रतियोगितामा नेपालले विजयी शुरूआत गरेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार बिहान सिंगापुरलाई आठ विकेटले हराउँदै विश्वकप छनोटमा नेपालले विजयी शुरूआत गरेको हो । 

 

सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६.३ ओभरमै दुई विकेट गुमाएर पूरा गर्‍यो ।नेपाललाई जीत दिलाउने क्रममा कुशल भुर्तेलले सर्वाधिक ७४ रन बनाए । ४७ बल खेलेका उनले आठ चौका र दुई छक्का प्रहार गरे ।

 

 

आशिफ शेखले २७ रन बनाए । २५ बल खेलेका उनले दुई चौका र एक छक्का हाने । यस्तै कप्तान रोहित पौडेलले ३५ रन बनाए । २४ बल खेलेका उनले दुई चौका र दुई छक्का प्रहार गरे ।यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रनको योगदान गरे। यस्तै आर्यावीर चौधरीले ३९, मनप्रित सिंहले २० रन बनाए ।नेपालका लागि अविनाश बोहराले ​सर्वाधिक तीन विकेट लिँदा सन्दीप लामिछाने र गुल्सन झाले दुई/दुई विकेट लिए । यस्तै करण केसीले एक विकेट लिए । 

 

 

आजदेखि शुरू भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । यस्तै, समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् ।

प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।आगामी टी-२० विश्वकपका लागि एसियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो । यो प्रतियोगिताबाट दुईवटा राष्ट्र आगामी टी-२० विश्वकपमा छनोट हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस