संसदमा प्रधानमन्त्रीलाई प्रश्न– नेपाली भूमि गुञ्जीमाथि दाबी छाड्नुभएको हो ?

सफल खबर संवाददाता

आइतबार, १२ कार्तिक २०८०, १५ : ०७
संसदमा प्रधानमन्त्रीलाई प्रश्न– नेपाली भूमि गुञ्जीमाथि दाबी छाड्नुभएको हो ?

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्रको गुञ्जीमा सुरक्षाकर्मीसहित आए पनि नेपाल सरकारले विरोध नगरेकोप्रति नेमकिपा सांसद प्रेम सुवालले आपत्ति जनाएका छन् । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकमाथि विरोधको सूचना दिन संसद्को रोस्ट्रममा उभिएका सुवालले गुञ्जीमा सरकारले दाबी छाडेको हो कि होइन भन्ने प्रश्न गरेका हुन् ।

‘भारतीय प्रधानमन्त्री गुञ्जीमा पुग्दा यसको विरोध किन भएन ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गुञ्जीमा सरकारको दाबी छाड्नु भएको हो र ?’ सुवालले यति प्रश्न गर्दागर्दै उनले पाएको ५ मिनेटको समय सकियो ।विरोधको सूचनामाथि जवाफ दिन अर्थमन्त्रीको तर्फबाट उभिएका कानून मन्त्री धनराज गुरुङले असान्दर्भिक प्रश्नको जवाफ दिन जरुरी नरहेको बताए । 

 

विरोधको सूचना फिर्ता लिन चाहने भए लिन सभामुखले दिएको समयमा सुवालले सोधे, ‘गुञ्जीमा सरकारले दाबी छाडे त्यहाँको बैंक के हुन्छ ? त्यहाँका नेपालीको खाता कसरी नेपालीको हुन्छ ?’ सुवालले प्रश्न गरे । 

चेक अनादारसम्बन्धी व्यवस्थालाई पारदर्शी बनाउन बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक सरकारले संसद्मा पेश गरेको हो ।अर्थमन्त्रीको तर्फबाट मन्त्री गुरुङले विधेयक आइतवार संसद्मा पेश गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी असोज २५ गते नेपाली भूमि कालापानी क्षेत्रमा आएका थिए । 

प्रतिक्रिया दिनुहोस