लेबनानमा खटिएका १ नेपाली शान्ति सैनिक घाइते

सफल खबर संवाददाता

आइतबार, १२ कार्तिक २०८०, १३ : ४८
लेबनानमा खटिएका १ नेपाली शान्ति सैनिक घाइते

काठमाडौं। लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन् ।​

त्यहाँस्थित नेपाली सैनिक रहेको संयुक्त राष्ट्रसङ्घीय पोष्ट ८–३३ नजिक सम्भावित इजरायली डिफेन्स फोर्स र हिजबुल्ला समूहबीचको आर्टिलरी/रकेट/मोर्टार प्रहारका क्रममा यही कात्तिक ११ गते राति ती हतियारको सेल खसेर उनी घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।घाइते सैनिकको नाम खुलाइएको छैन । 

 

उक्त सेलको टुक्रा बङ्करमा रहेका ती शान्ति सैनिकको दाहिने पेट र पाखुरामा लागेको थियो । घाइते सैनिकको हाल नाकुरास्थित शान्ति मिसनको अस्पतालमा उपचार भइरहेको छ ।

 

हाल उनको अवस्था सामान्य रहेको छ । त्यहाँस्थित अन्य नेपाली शान्ति सैनिक सकुशल रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।उनका अनुसार लेबनानमा संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजमा डेपुटी कमाण्डर र अन्य अधिकृत कर्मचारी गरी आठ सय ७४ नेपाली शान्ति सैनिक कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस