विगतजस्तो उत्साहजनक बन्न सकेन दसैँ

रासस

शनिबार, ११ कार्तिक २०८०, १३ : ५६
विगतजस्तो उत्साहजनक बन्न सकेन दसैँ

चितवन । बडादसैँमा संस्कृति धान्ने काम भए पनि विगतको जस्तो हर्षोल्लास भने छाउन नसकेको पाइएको छ । देशमा देखिएको चरम आर्थिक मन्दी र युवा जनशक्तिको पलायनले दसैँ विगतजस्तो बन्न नसकेको हो । दसैँको अघिल्लो दिनसम्म व्यवसायीहरुलाई बैङ्कबाट फोन आइरह्यो भने त्यहीँ काम गर्ने कर्मचारी पनि निराशा बोकेर दसैँमा सहभागी भए । खर्चिलो दसैँ बन्ने गरेको विगतको तुलनामा यस वर्ष आर्थिक अभावका कारण गर्जो टर्ने गरी मात्र दसैँ मनाउनु परेको व्यवसायीहरु बताउँछन् ।

निजी क्षेत्रका मालिकमात्र होइन त्यहाँ कार्यरत मजदुर कर्मचारीहरुले पनि राम्रो गरी तलब भत्ता पाउन सकेनन् । त्यसो त लुकी छिपी जुवातास खेल्नेहरुको खालमा प्रहरीले पैसासमेत भेट्न सकेन । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जुवातास नियन्त्रणका लागि प्रहरी परिचालन गरेको भए पनि पेसेवर जुवाडे नभेटिएको बताए ।

उनले भने, “१५ जना समातिँदा रु ३० हजार पनि नपाएपछि मुद्दा चलाउने अवस्था रहेन ।” उनको भनाइमा ठूलो रकम राखेर जुवातास खेल्नेहरु यो वर्ष भेटिएनन् । उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजन गौतमले विगतका दसैँमा जुवातासका ठूलाठूला खाल हुने गरेको सुनेको भए पनि यस वर्ष त्यस्तो नसुनिएको बताए। उनले भने, “आर्थिक मन्दीका कारण दसैँ मनाउने अवस्था नरहेपछि जुवातास कस्ले खेल्ने ?” हुनेखाने हुँ भन्नेले पनि यसपालि राम्रो र रमाइलो गरी दसैँ मनाउन नसकेको उनले बताए ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष चुननारायण श्रेष्ठले विगतको तुलनामा ३० प्रतिशत हाराहारी पनि व्यापार नभएको बताए । यसको प्रत्यक्ष प्रभाव दसैँ पर्वमा परेको उनको भनाइ छ । उनले भने, “क्रय शक्ति नहुँदा समग्र पर्व प्रभावित बन्यो ।” दसैँमा बजार चलायमान हुने अनुमान गरिएको भए पनि त्यसो हुन नसकेको उनी बताउँछन । यससँगै मानिसहरुमा घुमफिर गर्ने क्रम समेतमा कमी आएको उनले बताए । पोल्ट्री व्यवसायी ऋषि पौडेल आर्थिक मन्दी र युवा जनशक्ति पलायन भएका कारण दसैँ उत्साहजनक बन्न नसकेको बताउछन । उनले भने, “दसैँमा कुनै उत्साह देखिएन, यसको कारण आर्थिक मन्दी र युवा जनशक्तिको पलायन हो ।” मासुको अधिक प्रयोग हुने दसैँमा खसी, बोका, च्याङ्ग्रा, कुखुरा बिक्न नसकेको उनले बताए ।

उनले भने, “सुरुका दिनमा जिउँदो खसी प्रतिकिलो रु छ सयमा बिक्री भएकामा पछिल्ला दिनहरुमा रु पाँच सयमा पनि बिक्न सकेन ।” कुखुराको खपत पनि निकै न्यून भएको उनले बताए । नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने आर्थिक मन्दीका कारण दसैँ उत्साहजनक बन्न नसकेको बताउनुहुन्छ । उनले भने, “आर्थिक रुपमा कमजोर भएको अवस्थामा बजारको महङ्गीका कारण बाँच्न मुस्किल छ, कसरी दसैँ उमङ्ग हुन्छ ।” व्यावसायिक क्षेत्र धराशयी भएको र महङ्गी अस्वाभाविक बढेका कारण दसैँ प्रभावित भएको उनको बुझाइ रहेको छ ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले आफू प्रमुख हुनुअघि जस्तै गरी यस वर्ष पनि धेरैलाई दसैँ मान्न सहयोग गरे। उनले भने, “दसैँ कसरी मनाउनु, आम नागरिकसँग पैसा नै छैन ।” एकातर्फ आर्थिक मन्दी छ भने अर्कोतर्फ घरका छोराछोरी विदेश हुँदा ती परिवारमा दसैँको उमङ्ग नभएको उनले बताए ।  उनले भने, “संस्कृति जगेर्नाका लागिमात्र दसैँ मान्नुपर्ने अवस्था आएको देखियो ।” सबै क्षेत्र प्रभावित भएकै कारण दसैँमा उमङ्ग आउन नसकेको धेरैको भोगाइ छ ।