लागुऔषधसहित ६ जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०९ कार्तिक २०८०, १९ : २६
लागुऔषधसहित ६ जना पक्राउ

काठमाडौँ । अवैध लागुऔषधसहित ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीले खैरो हेरोइनसहित तीन जना, ब्राउन सुगरसहित दुई जना र ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जनालाई विभिन्न स्थानबाट पक्राउ परेको हो।

कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडा बस्ने २८ वर्षीय राकेश भट्ट, सोही उपमहानगरपालिका-७ मनेहरा बस्ने ३४ वर्षीय अमिर खाती र २३ वर्षीय नरेश थापा ३९० मिलिग्राम खैरो हेरोइनसहित बुधबार राति पक्राउ परेका हुन्।

अस्थायी प्रहरी पोस्ट जुगेडाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-९ बङग्राकटानबाट ७२० मिलिग्राम ब्राउन सुगरसहित धनगढी उपमहानगरपालिका-७ मनेहरा बस्ने २१ वर्षीय नरेश राना र सोही उपमहानगरपालिका-१७ पथरिया बस्ने १९ वर्षीय हितेश रानालाई बुधबार साँझ पक्राउ गरिएको छ।

त्यस्तै मोरङ, केराबारी गाउँपालिका-८ आमजुगी बस्ने २२ वर्षीय मिलन बिकलाई ३०० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।