ओलीविरुद्ध भ्रम फैलाउनेलाई सरकारले दण्डित गरोस् : विष्णु पौडेल

सफल खबर संवाददाता

विहीबार, ०९ कार्तिक २०८०, १३ : ५३
ओलीविरुद्ध भ्रम फैलाउनेलाई सरकारले दण्डित गरोस् : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गर्ने तथा चरित्रहत्याको खेती गर्नेमाथि कानूनबमोजिम कारबाही अघि बढाउन सरकारको ध्यानाकर्षण गरेका छन् ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेका पौडेलले एमाले अध्यक्ष ओलीविरुद्ध भ्रमपूर्ण प्रचार गर्ने अपराधकर्ममा संलग्नहरूलाई दण्डित नगरे सरकारको नियतमाथि प्रश्न उठ्नेसमेत बताएका छन् ।

पौडेलले भने, ‘राष्ट्रको स्वाभिमान, जनताको समृद्धि र सामाजिक न्यायको निम्ति उचाइबाट नेतृत्व गर्नुभएको हाम्रो पार्टी अध्यक्षविरुद्ध जुन जुन प्रकारले नियोजित प्रहार र भ्रामक प्रचारबाजी गरिएको छ, यस्ता अपराधकर्ममा संलग्नलाई सरकारले दण्डित गरोस् । यदि सरकारले त्यस्ता व्यक्ति र आपराधिक जत्थालाई कारबाहीको दायरामा ल्याएन भने सरकार स्वयम् यस्तो अपराधकर्मको मतियार हो भनेर बुझ्नुपर्ने हुन्छ ।’

पछिल्लो समय बैंकको ऋण नतिर्ने अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईँले एमाले अध्यक्ष ओलीमाथि कम्बोडियाको टेलिकममा लगानी गरेको लगायतका आरोप लगाएका छन् । ओली नेतृत्वमा नेपालले चुच्चे नक्सा जारी गरेपछि भारतीय मिडियाले ३ वर्षअघि प्रसारण गरेको फेक रिपोर्टलाई उद्धृत गर्दै प्रसाईँले ओलीमाथि आरोप लगाएका भिडिओहरू भाइरल छन् ।

एमालेले प्रसाईँको भ्रमपूर्ण अभिव्यक्तिलाई आपराधिक कार्य भन्दै कानूनबमोजिम कारबाहीको लागि सरकारको ध्यानाकर्षण गराएको छ । ओलीले गणतन्त्र र धर्मनिरपेक्षको विकल्पमा अहिले कोही जान नसक्ने भन्दै राजतन्त्र फर्किन सम्भव नरहेको अभिव्यक्ति दिएपछि राजावादीहरूले नियोजित आक्रमण थालेको एमालेको दाबी छ ।

प्रतिक्रिया दिनुहोस