फैलिँदैछ डेंगु : चार दिनमै थपिए १५ सय संक्रमित

सफल खबर संवाददाता

विहीबार, ०९ कार्तिक २०८०, ०७ : ४२
फैलिँदैछ डेंगु : चार दिनमै थपिए १५ सय संक्रमित

काठमाडौं ।  चार दिनमा देशभर करिब दुई हजार डेंगुका नयाँ बिरामी भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो विवरणअनुसार कात्तिक ४ गते सम्म देशभर ४०  हजार ५३१ जना डेंगुका बिरामी रहेकोमा बुधबार ४१ हजार ८५७ जना पुगेको छ। 

यो बिचमा काठमाडौंमा समेत संक्रमितको संख्या बढेको छ। चार दिनअघिसम्म काठमाडौंमा ९१० जना संक्रमित रहेकोमा अहिले बढेर ९६१ जना पुगेको छ। असोजको दोस्रो हप्तासम्म काठमाडौंमा ५०० भन्दा कम बिरामी थिए।

यस्तै हाल देशभरका ११ जिल्ला डेंगु संक्रमितको अतिप्रभावित जिल्लामा पुगेका छन् अर्थात् ११ जिल्लामा ५०० भन्दा बढी संक्रमित छन्। अहिले धादिङमा तीन हजार १६१, गोरखामा ६५३, कैलालीमा ६३७ र धनकुटामा ६०४ संक्रमित छन्। 

ईडीसीडीको विवरण हेर्दा हाल काठमाडौंपछि गण्डकी प्रदेशको तनहुँ र कास्कीमा डेंगुका बिरामी बढिरहेका छन्। चार दिनअघिसम्म तनहुँमा ५ हजार ५९१ जना र कास्कीमा १ हजार ६८७ जना बिरामी ‍रहेकामा हाल तनहुँमा ५ हजार ९५७ जना र कास्कीमा २ हजार २६५ जना पुगेका छन्। यी जिल्लामा भदौ तेस्रो हप्तासम्म थोरै बिरामी थिए। 

सामान्यतया मनसुन बाहिरिएर चिसो शुरु भएपछि कम हुँदै जाने गरेको पाइए पनि यो वर्ष झन् बढ्दै गएको ईडीसीडीको विवरणले देखाएको छ।  हरेक वर्ष डेंगु सामान्यतया नेपालमा जेठदेखि भदौसम्म तीव्र गतिमा फैलिएर असोज लागेपछि बिस्तारै ओरालो लाग्ने गरेको थियो। 

यो वर्षको सुरुवातमा कोशी प्रदेशको सुनसरी मोरङमा तीव्र फैलिएको डेंगु संक्रमण यी जिल्लामा हाल बिस्तारै ओरालो लागे पनि काठमाडौं, तनहुँ र कास्कीलगायत पहाडी जिल्लामा झन् बढ्दै गएको छ। 

हाल सुनसरीमा १६ हजार १०५ जना संक्रमित रहेका छन भने यो जिल्लाको संक्रमणदर हाल जम्मा ३८.५ प्रतिशत रहेको छ। अघिल्लो महिनासम्ममा यो सुनसरीमा डेंगु संक्रमणदर ५० भन्दा माथि रहेको थियो। 

यस्तै मोरङमा पनि हाल २२९० जना संक्रमित रहेका छन् भने संक्रमणदर जम्मा ५ प्रतिशत छ। झापामा ३६४७ जना संक्रमित रहेका छन भने संक्रमण दर पनि ८ प्रतिशत रहेको छ। एक महिना अघि सम्म झापा मोरङ र सुनसरीमा तीव्र रूपमा डेंगु बढेको थियो।

अघिल्लो वर्ष साउनदेखि कात्तिकसम्म काठमाडौं उपत्यकासहित देशभर डेंगु तीव्र गतिमा फैलिएको थियो। गत वर्ष काठमाडौं उपत्यकामा महामारीकै रूप लिएको बेला ५४ हजार ७८४ जना बिरामी भएका थिए।

डैंगुकै कारण ८८ जनाले ज्यान गुमाएका थिए। यो वर्ष जुनयता हालसम्म  २० जनाले ज्यान गुमाएका छन्।

गत वर्ष काठमाडौं उपत्यकामा धेरै बिरामी देखिएका थिए तर यो वर्ष सुनसरी, मोरङ‚ झापालगायत जिल्लामा डेंगु तीव्र गतिमा फैलिएको देखिएको छ। इडिसिडीको पछिल्लो विवरण हेर्ने हो पूर्वका जिल्लामा डेंगु बिस्तारै घट्दै गएर पश्चिमका क्षेत्रमा बढ्दै गएको छ। 

नेपालमा यसअघि पनि सन् २०१० मा तराईका रूपन्देही, नवलपरासीलगायतका जिल्लामा डेंगुले महामारीको रूप लिएको थियो। नेपालमा पहिलोपटक सन् २००६ मा चितवनमा डेंगु पुष्टि भएको थियो। पछिल्ला वर्षहरूमा वर्षायाममा डेंगु गम्भीर जनस्वास्थ्य समस्याको रूपमा देखिने गरेको छ।

पहिलो पटक भारतबाट आएका एक व्यक्तिमा डेंगु देखिए पनि पछिल्ला वर्ष नेपालमा वर्षातको समयमा डेंगु रैथाने रोगजस्तै हुन थालेको छ। 

नेपालमा हाल डेंगुका चार प्रकार पुष्टि भएका छन्। तीमध्ये हालसम्म १ र २ बाट धेरै जना बिरामी भएको महाशाखाले जनाएको छ। चिकित्सकका अनुसार एउटै व्यक्तिलाई डेंगुको फरक-फरक प्रकारको संक्रमण भए निकै गम्भीर असर हुन सक्छ।

 

प्रतिक्रिया दिनुहोस