काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रजनी श्रेष्ठले विद्यालय शिक्षामा खेलकुदलाई अनिवार्य विषयका रूपमा समावेश गर्न सरकारसँग आग्रह गरेकी छन्।
मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले खेलाडीहरूको अवस्था राज्यले लामो समयदेखि उपेक्षा गर्दै आएको आरोप लगाइन्।
श्रेष्ठले आफू केवल सांसदका रूपमा नभई खेलाडीको अनुभवसहित संसद्मा उपस्थित भएको उल्लेख गर्दै देशका लागि योगदान दिने खेलाडीहरू विभिन्न कारणले बिदेसिन बाध्य भइरहेको बताइन्। उनका अनुसार उनीहरूको योगदानप्रति सरोकारवाला निकायले उचित मूल्यांकन नगरेको गुनासो छ।
उनले खेल क्षेत्रका लागि आवश्यक पूर्वाधारको अभाव, समयमै पुरस्कार नपाउने अवस्था तथा भविष्य सुरक्षित नहुनुजस्ता कारणले युवाहरू वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेको टिप्पणी गरिन्।
सांसद श्रेष्ठले खेलकुदलाई शैक्षिक प्रणालीमै अनिवार्य बनाउनुपर्ने आवश्यकता औँल्याउँदै खेलाडीका लागि बीमा र रोजगारी सुनिश्चितता राज्यले ग्यारेन्टी गर्नुपर्ने धारणा राखिन्।
त्यसैगरी उनले खेल क्षेत्रमा राजनीतिक हस्तक्षेप र पक्षपातपूर्ण अभ्यास अन्त्य गर्न पनि सरकारलाई आग्रह गरेकी छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ बैशाख २०८३, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्यायिक छानबिन आयोग नबनेसम्म आन्दोलन जारी : सांसद श्रेष्ठ