झापा । झापामा आधुनिक थिएटरमा नाटक हेर्ने दर्शक बढ्दै गएका छन् । यो साता जिल्लाको दमक र काँकडभिट्टामा दुई वटा अलगअलग थिएटरमा मञ्चन भएका नाटकले वाहवाही पाए ।
परिवर्तन थिएटरले आदिवासी मेचे समुदायको कथावस्तुमा आधारित ‘म्लेच्छ’ नामक नाटक मञ्चन गर्यो भने दमकको कदम थिएटरले प्रसिद्ध साहित्यकार इन्द्रबहादुर राईको ‘जयमाया आफुमात्रै लिखापानी आइपुगी’ नामक प्रस्तुत गरेको थियो ।
‘म्लेच्छ’का लेखक पर्वत पोर्तेलले दर्शकबाट पाएको माया र प्रतिक्रियाबाट आफु उत्साहित रहेको बताउनुभयो । अघोरी जंगल फाँडेर बसोबास गरेका आदिबासीहरु कसरी आफ्नो थातथलोबाट बेदखल भए र उनीहरुमाथि राज्यले पनि कसरी विभेद गर्यो भन्ने इतिहासलाई पोर्तेलले ‘म्लेच्छ’मा उतारेका हुन् ।
झापामा थिएटरमा नाटक हेर्ने संस्थागत चलन सुरु भएको एक दशकभन्दा धेरै भएको छैन । तर, छोटो अवधिमै कलाकारहरुको मिहेनत र दर्शकको मायाले थिएटर संस्कृति मौलाएको छ । दमकको कदम थिएटरमा प्रस्तुत ‘जयमाया आफुमात्रै लिखापानी आइपुगी’ हेर्न दर्शकको घुइँचो लागेको थिएटरका महासचिव कमन देवानले बताउनुभयो । यसअघिका नाटकमा पनि दर्शकको अपार उपस्थिति रहने गरेको थियो ।
दोस्रो विश्वयुद्धमा बर्मा ९हाल म्यान्मार०मा जापानी फौजले आक्रमण गरेपछि त्यहाँका नेपालीमूलका बासिन्दा ज्यान जोगाउन कयौ रात र दिन जंगलको बाटो हिँडेका थिए । त्यही क्रममा जयमाया कसरी लिखापानी भन्ने ठाउँमा एक्लै आइपुगिन् भन्ने कथा इन्द्रबहादुर राईले लेख्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ कार्तिक २०८०, ११ : ४२
लेखकबाट थप