इजरायलबाट थप एक विद्यार्थीको शव काठमाडौँ आइपुग्यो

सफल खबर संवाददाता

आइतबार, ०५ कार्तिक २०८०, १६ : ५४
इजरायलबाट थप एक विद्यार्थीको शव काठमाडौँ आइपुग्यो

काठमाडौँ । प्यालेस्टिन विद्रोही समूह हमासको आक्रमणमा परि इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये चार जनाको शव काठमाडौँ आइपुगेको छ । फ्लाई दुबईको विमानमार्फत उनीहरूको शव नेपाल ल्याइएको परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने र कैलाली बौनियाँ-३ का आशीष चौधरीको शव नेपाल आइपुगेको हो । न्यौपानेको शव गए राति आइपुगेको थियो भने धामी र विष्टको शव आज बिहान आइपुगेको हो । चौधरीको शव आज दिउँसो २ बजेर ४० मिनेटमा नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गएको असोज २० गते हमास समूहको आक्रमणमा परि इजरायलमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत उनीहरू इजरायल गएका थिए । उनीहरू गएको भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको अर्न एन्ड लर्न कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए ।

त्यस आक्रमणमा परि ज्यान जाने अन्य विद्यार्थीमा बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपाली, धनुषा सापही-६ का आनन्द शाह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली-३ का राजन फुलारा, डोटी लामीखाल-८ का पदम थापा र सल्यान सारदा-३ का प्रवेश भण्डारी छन् । त्यही आक्रमणमा परि कञ्चनपुर भीमदत्त-३ का विपिन जोशी सम्पर्कविहीन छन् ।

आक्रमणमा परि मृत्यु भएका बाँकी छ जना नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ । नेपाल ल्याइएका शव नेपाली सेनाको हेलिकोप्टरमार्फत आजै कैलालीको धनगढी लैजाने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

धनगढीबाट स्थानीय प्रशासनले पीडितको घरसम्म शव पुर्‍याउने व्यवस्था गरिएको छ । केही दिनअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलबाट फर्किन चाहनेमध्ये दुई सय ५४ जना विद्यार्थीलाई नेपाल ल्याएको थियो ।