इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का

एजेन्सी

सोमबार, ०९ चैत्र २०८२, ०७ : ३४
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का

एजेन्सी । इरानले इजरायलको परमाणु ठेगाना नजिकै रहेको दक्षिण इजरायली क्षेत्रका दुई सहरमा भीषण मिसाइल आक्रमण गरेको छ। सो ब्यालिस्टिक मिसाइल आक्रमणमा परी १६० भन्दा बढी मानिस घाइते भएका छन् । जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

इजरायली आपतकालीन सेवाका अधिकारीहरूका अनुसार, मिसाइलहरू खसेपछि दक्षिण इजरायलको अरद सहरमा ८४ र डिमोना सहरमा ७८ जना घाइतेको उपचार भइरहेको छ।

अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले डिमोनास्थित इजरायलको परमाणु अनुसन्धान केन्द्रभन्दा करिब १३ किलोमिटर टाढा मिसाइल खसेको जानकारी दिएको छ। एजेन्सीका अनुसार उक्त परमाणु केन्द्रमा भने कुनै भौतिक क्षति पुगेको छैन। इरानको सरकारी टेलिभिजनले शनिबार इरानको नतान्ज परमाणु केन्द्रमा भएको आक्रमणको बदला स्वरूप यो कारबाही गरिएको दाबी गरेको छ।

इजरायली वायुसेनाका अनुसार गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणयता इरानले अहिलेसम्म इजरायलतर्फ ४०० भन्दा बढी मिसाइल प्रहार गरिसकेको छ। वायुसेनाले ९२ प्रतिशत मिसाइललाई आकाशमै नष्ट गरिएको दाबी गरे तापनि शनिबारको आक्रमणमा सुरक्षा प्रणाली (इन्टरसेप्टर) विफल भएको स्वीकार गरेको छ।

'डिमोना र अरद दुवै ठाउँमा इन्टरसेप्टर मिसाइलहरू दागिएका थिए, तर तिनले इरानी मिसाइललाई रोक्न सकेनन्,' इजरायली अग्निशमन सेवाले भनेको छ, 'नतिजा स्वरूप सयौँ किलो तौलका वारहेड (विस्फोटक) भएका दुई ब्यालिस्टिक मिसाइल सहरमा खस्न पुगे।' इजरायलको अभेद्य मानिने हवाई रक्षा प्रणालीलाई इरानी मिसाइलले कसरी छक्याउन सफल भए भन्ने विषयमा तत्कालै उच्चस्तरीय अनुसन्धान सुरु गरिएको छ। इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले आइतबार अरदस्थित घटनास्थलको भ्रमण गर्दै इरानले विश्वका लागि खतरा निम्त्याएको बताए।

अरदका स्थानीय बासिन्दाले मिसाइल विस्फोटको आवाजले निकै भयवित बनाएको बताएका छन्। आक्रमणबाट दुईवटा ठूला आवासीय भवनहरू नराम्ररी क्षतिग्रस्त भएका छन्। उद्धारकर्मीहरूका अनुसार घाइते हुनेहरूमा बालबालिकाहरू पनि छन् । जसको टाउको र छातीमा गम्भीर चोट लागेको छ। 

डिमोनास्थित नेगेभ परमाणु अनुसन्धान केन्द्रलाई इजरायलको अघोषित परमाणु हतियार भण्डारका रूपमा हेरिन्छ। यद्यपि इजरायलले आफूसँग परमाणु हतियार रहेको कुरा कहिल्यै आधिकारिक रूपमा स्वीकार गरेको छैन । तर सिप्री जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूका अनुसार इजरायलसँग करिब ९० वटा परमाणु वारहेडहरू छन्।
इरान र इजरायलबीचको यो युद्ध २८ फेब्रुअरीदेखि सुरु भएको हो ।  यसले पूरै मध्यपूर्वमा ठूलो संकट निम्त्याएको छ।

प्रतिक्रिया दिनुहोस