दसैँमा पनि आयल निगमका डिपोहरू खुला रहने

सफल खबर संवाददाता

शनिबार, ०४ कार्तिक २०८०, १८ : ४४
दसैँमा पनि आयल निगमका डिपोहरू खुला रहने

काठमाडौँ । दसैँको सार्वजनिक बिदाका दिनहरूमा पनि आयल निगमका बिक्री केन्द्र (डिपो)हरू खुला रहने भएका छन् । नेपाल आयाल निगमका अनुसार कात्तिक ४ गते अर्थात् फूलपातीका दिनदेखि कात्तिक ९ गतेसम्म (कोजाग्रत पूर्णिमा) का दिन सम्मै बिक्री केन्द्रहरू खुला रहने भएका हुन् । 

तथापि, व्यवस्थापन अनुकूल केन्द्रदेखि प्रादेशिक कार्यालयहरूलाई दिन अनुसार खुला राख्ने तालिका तयार गरिएको निगमले जनाएको छ । जसअनुसार कोशी प्रदेश अन्तर्गतको विराटनगर कार्यालय र मधेस प्रदेश स्थित अमलेखगञ्ज कार्यालय कात्तिक ४ गते अर्थात् फूलपातीका दिन र कात्तिक ९ गते पूर्णिमाका दिन खुल्ने छ । अरू दिन भने यी दुई डिपो कार्यालयहरू बन्द रहनेछन् । 

यस्तै, बागमती प्रादेशिक कार्यालय थानको कात्तिक ४, ६ र ९ गते खुला रहनेछ र बाँकी दिन बन्द रहनेछ । गण्डकी प्रादेशिक कार्यालय, पोखरा, कात्तिक ५ र ९ गते खुल्नेछ । लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवा कात्तिक ४, ६ र ९ गते खुल्नेछ भने अरू दिन बन्द हुनेछ । 

यसै गरी कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत कात्तिक ४ गते एक दिन मात्र खुल्नेछ भने बाँकी सार्वजनिक बिदाका दिन बन्द रहने निगमले जनाएको छ ।  सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढी कात्तिक ५ र ८ गते खुल्ने छ भने शाखा कार्यालय चारआली कात्तिक ४ र ८ गते खुल्नेछ । यसै गरी निगमको इन्धन डिपो, धनुषा कात्तिक ४ र ८ गते, नेपालगञ्ज कात्तिक ५ गते र वीरगन्ज कात्तिक ४ देखि ९ गतेसम्म नै खुला रहने निगमले जनाएको छ । 

दसैँ जस्ता चाडपर्वमा सर्वसाधारण उपभोक्ताहरूलाई सहज होस् भन्ने उद्देश्यले पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीलाई नियमित राख्न यस्तो व्यवस्था गरिएको निगमले जनाएको छ ।  

NOC-nepal

प्रतिक्रिया दिनुहोस