दसैँमा राजधानीका अस्पतालले यसरी दिँदैछन् सेवा

सफल खबर संवाददाता

शनिबार, ०४ कार्तिक २०८०, १३ : ४५
दसैँमा राजधानीका अस्पतालले यसरी दिँदैछन् सेवा

काठमाडौँ । दसैँ हिन्दूहरूको महान् चाड हो । यो चाड धनीले मात्र होइन गरिबले पनि ऋणधनको जोहो गरेर मीठो मसिनो खाने चलन छ । यस्ता चाडपर्वमा लुवाइखुवाइमा मानिसले देखासिकी पनि गर्छन् । तर स्वास्थ्यमा भने ध्यान पुर्‍याउँदैनन् । त्यसैले धेरै मानिसको स्वास्थ्यमा समस्या आउने चिकित्सकहरू बताउँछन् । 

दसैँमा मासु र चिल्लोचापुल्लोको बढी उभोग हुन्छ । यस्ता चिल्लो, पिरो र मसलेदार खाने कुरा बढी भयो भने पाचन प्रक्रियामा असर गर्छ । त्यसैले खानपिनमा ध्यान दिइएन भने बिरामी हुने खतरा रहेको चिकित्सकहरूले सचेत हुन आग्रह गरेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार दसैँको समयमा खानपानमा ध्यान नदिँदा फुड पोइजनिङ, पखाला, बान्ता, हैजा, अपच, ग्यास्ट्रिक जस्ता स्वास्थ्य समस्या आउन सक्छन् । यस्तै यस पटक मानिसलाई मात्रै दसैँ नलागेर लामखुट्टेलाई पनि दसैँ लागेको उनी सुनाउँछन् । 

उनी भन्छन्, ‘काठमाडौँमा डेङ्गु फैलिरहेको छ । अहिले धेरै मानिस दसैँ मनाउन उपत्यका छाडेर गृहजिल्लामा पुग्नु भएको छ । यहाँबाट जानेहरू र सङ्क्रमण बढी फैलिएको जिल्लाबाट दसैँ मनाएर काठमाडौँ फर्किनेबाट र काठमाडौँदेखि गाउँ र गाउँदेखि सहरसम्म डेङ्गु सङ्क्रमणको त्रास बढेको छ ।’  

 

त्यस्तै सिभिल अस्पतालका निर्देशक डा. विधाननिधि पौडेल दसैँलाई खानपान अर्थात् मासु खाने पर्वका रूपमा लिइने भएकाले खानपानमा ध्यान नदिँदा रोग नलागेकालाई रोग लाग्ने, रोग लागेकालाई अझ च्याप्ने बताउँछन् ।बढी मात्रामा मासु, माद्यपान, अन्य चिल्लो, पिरो, मसलेदार खानपानका कारण युरिक एसिड, रक्तचाप, मुटु, मिर्गौला, झाडाबान्ता, ग्यास्ट्रिकका बिरामी बढ्छन्, त्यसैले सचेत हुनुपर्ने डा. पौडेल सुनाउँछन् । 

दसैँ अवधिभर सार्वजनिक बिदा रहेको छ। स्वास्थ्य संस्था खुला भए पनि जनशक्ति तुलनात्मक रूपमा कम हुन्छन् । तर सबै खुला हुने राजधानीका मुख्य अस्पतालहरूले दसैँका बेला फूलपातीदेखि एकादशीसम्म बहिरङ्ग सेवा तथा आकस्मिक सेवा कसरी दिइरहेका छन् ? पर्वका समयमा कस्ता बिरामी अस्पतालमा उपचार गर्न पुग्छन् ? ओपीडी र आकस्मिक सेवा कसरी सञ्चालन हुन्छ भनेर काठमाडौँका केही अस्पतालसँग कुरा गरेका छौँ ।

राष्ट्रिय ट्रमा सेन्टर 
राष्ट्रिय ट्रमा सेन्टरले दसैँको समयमा आकस्मिक सेवा नियमित सञ्चालन गरेको बताएको छ । ट्रमा सेन्टरमा धेरैजसो बिरामी आकस्मिक सेवाका लागि आउने भएकाले निरन्तर रूपमा आकस्मिक सेवा दिइएको सेन्टरका प्रशासन शाखा प्रमुख नवराज गौतमले बताए ।

 

‘यहाँ ओपीडी सेवा लिन कम बिरामी आउँछन्, आकस्मिक सेवा लिन बढी आउने भएकाले दसैँमा आकस्मिक सेवा निरन्तर सञ्चालन हुन्छ,’ उनले भने, ।
यस्तै दसैँ बिदामा इमर्जेन्सीको ओटी पनि खुला रहेको प्रमुख गौतमले बताए । 

इमर्जेन्सीमा आउने बिरामीको प्रायः जीवनको सुरक्षासँग सम्बन्धित हुने भएकाले यस्ता पर्वका समयमा झन् ट्रमा सेन्टर अलर्ट भएर बस्ने उनले बताए ।‘तत्काल जीवन जोगाउनुपर्ने भएकाले इमर्जेन्सी ओटी गर्नुपर्ने केसका लागि पनि तत्काल ओटी सेवा सञ्चालन गरिन्छ,’ गौतमले थपे ।यस्ता चाडपर्वमा अन्य समयमा भन्दा धेरै दुर्घटना हुन्छन् । त्यसैले अन्य अस्पतालभन्दा ट्रमा सेन्टर चनाखो भएर बस्नुपर्ने भएकाले निरन्तर बिरामीको उपचारमा लागिने उनले बताए ।

सिभिल अस्पताल 
मीनभवनस्थित सिभिल अस्पतालले पनि दसैँ बिदाको समयमा आकस्मिक सेवा नियमित रूपमा सञ्चालन गरेको छ । 
अस्पतालका निर्देशक डा. विधाननिधि पौडेलले सप्तमीदेखि दशमीसम्म ओपीडी सेवा बन्द रहेको बताए । तर, आकस्मिक सेवा र इन्डोर सेवा खुला रहेको उनको भनाइ थियो । 

अहिले अस्पतालमा डेङ्गुका बिरामी बढेकाले दसैँ अवधिमा अझ बढ्न सक्ने उनले बताए । उनले भने, ‘अहिले अस्पतालमा ४० जना डेङ्गुका बिरामी छन् । डेङ्गु सङ्क्रमणको मौसम भएकाले अझै बिरामी बढ्न सक्छन् ।’

दसैँमा बढी मात्रा चिल्ला, पिरो, मसलादार खानेकुरा र माछा मासु, रक्सी खाएर झाडापखाला, बान्ता भई अस्पतालमा बिरामी बढी हुने भएकाले सोही अनुसार अस्पतालमा जनशक्ति व्यवस्थापन गरिएको निर्देशक डा. पौडेलले सुनाए ।

 ‘मानिसहरु मादक पदार्थ सेवन गरी कुटपिट गरी चोटपटकको उपचार गर्न आउँछन् । त्यस्तै बाटो खाली हुने भएकाले सवारी तीव्र गतिमा सवारी कुदाउँदा दुर्घटना हुन्छ र उपचारका लागि आउने बिरामी पनि बढ्ने भएकाले सोही अनुसार जनशक्ति व्यवस्थापन गरिएको छ,’ उनले भने । 

पाटन अस्पताल 
पाटन अस्पतालमा दसैँ बिदा अवधिमा आकस्मिक सेवा २४ घण्टा खुला रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. रवि शाक्य अस्पताल सप्तमी अर्थात् फूलपातीदेखि पाँच दिनसम्म ओपीडी सेवा बन्द रहने बताउँछन् । 

यद्यपि यस अवधिमा भर्ना भएका बिरामीको उपचारमा भने निरन्तर खटिने उनले बताए । दसैँ र तिहार मनाउन डाक्टर, नर्स, स्वास्थ्यकर्मी र कर्मचारीको ड्युटी विभाजन गरिएको उनले बताए । त्यसैले आकस्मिक सेवा र भर्ना भएका बिरामीको उपचारका लागि स्वास्थ्यकर्मी निरन्तर खटिने उनले बताए ।

यो समय सडकमा ट्राफिक जाँच कम हुने हुँदा रक्सी सेवन गरी सवारी चलाउँदा दुर्घटना बढ्छ । त्यस्तै मीठो मसिनो खाने भनेर चिल्लो, पिरो, अमिलो, माछा, मासु र रक्सी बढी मात्रा खाँदा धेरै बिरामी भएर अस्पताल आउने उनले बताए । 

त्रिवि शिक्षण अस्पताल (टिचिङ)
त्रिवि शिक्षण अस्पताल (टिचिङ)ले शुक्रबारसम्म अस्पतालबाट दिइने सम्पूर्ण सेवाहरू निरन्तर दियो । अस्पतालका उपनिर्देशक तथा छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासका अनुसार आज फूलपातीदेखि एकादशीसम्म भने ओपीडी सेवा बन्द रहने भएको छ । 

यस समयमा ओपीडी सेवा बन्द भए पनि आकस्मिक सेवा भने २४ घण्टा खुला रहेको उनको भनाइ छ । यस्तै अस्पतालमा भर्ना भएका बिरामीको उपचार सेवा निरन्तर हुने उनको भनाइ छ । त्यसपछि द्वादशीदेखि सबै सेवा सञ्चालन हुने उनको भनाइ छ ।काठमाडौँ बाहिर दसैँ मनाउन जाने डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीले दसैँ र तिहारमा आलोपालो गरी बिदाको व्यवस्था मिलाइएको उनले सुनाए । 

वीर अस्पताल

केन्द्रीय अस्पताल वीर अस्पतालमा दसैँमा पनि आकस्मिक सेवा खुला रहेको छ । आकस्मिक सेवा लिन आउने बिरामीका लागि चिकित्सक, स्वास्थ्यकर्मी निरन्तर खटिएको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बताए । दसैँका बेला देखिन सक्ने रोग र हाल देखिरहेको डेङ्गुका बिरामीको चापलाई ध्यान दिई स्वास्थ्यकर्मी व्यवस्थापन गरिएको उनले सुनाए । 

वार्ड र आकस्मिक कक्ष भने दसैँ बिदामा पनि निर्वाध रूपमा सञ्चालन गरिएको उनले बताए । तर ओपीडी सेवा भने फूलपातीदेखि दशमीसम्म बन्द रहने निर्णय भएको अस्पतालको भनाइ छ । 

गङ्गालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्र
गङ्गालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्रमा पनि दसैँको बिदाको समयमा आकस्मिक सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले दसैँका चार दिनसम्म ओपीडी सेवा बन्द हुने बताए ।

यद्यपि आकस्मिकतर्फका बिरामीलाई भने निरन्तर सेवा दिइएको अस्पतालका निर्देशक अधिकारीले जानकारी दिए । ‘तत्काल गर्नुपर्ने शल्यक्रिया निरन्तर सञ्चालन हुन्छन्। साथै केही समयपछि गर्नुपर्ने शल्यक्रिया पालो अनुसार दसैँपछि गर्छौं,’ उनले भने ।
 
कान्ति बाल अस्पताल 
कान्ति बाल अस्पतालमा दसैँमा ओपीडी सेवा बन्द रहेको छ । यद्यपि आकस्मिकतर्फ २४ घण्टा सेवा सञ्चालन रहेको अस्पतालका निर्देशक डा. पङ्कज रायले बताए ।आकस्मिक सेवा प्रदान गर्न कात्तिक ५ गतेदेखि ९ गतेसम्मको अवधिलाई जनशक्तिको व्यवस्थापन गरिसकिएको उनले बताए । अस्पतालमा आएका अन्य बिरामीलाई पनि आकस्मिक कक्षबाट सेवा प्रदान गरिने उनले सुनाए । 

प्रतिक्रिया दिनुहोस