दशैँ नेपालीको साझा चाड : ओली

सफल खबर संवाददाता

शुक्रबार, ०३ कार्तिक २०८०, २१ : ५६
दशैँ नेपालीको साझा चाड : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशैँ नेपालीको ‘साझा चाड’ र ‘समृद्ध नेपाल र सुखी नेपाली’ को साझा आकाङ्क्षा भएको बताएका छन् ।  दशैँ, तिहार, छठ, नेपाल संवत् लगायतका चाडपर्वको अवसरमा आज शुक्रवार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा उनले दशैँको सांस्कृतिक महत्त्वमाथि चर्चा गर्दै सबै नेपालीले दसैँलाई उल्लासपूर्वक मनाउने गरेको बताए ।

अध्यक्ष ओलीले विविधतायुक्त नेपाली समाजमा दसैँले आपसी सद्भाव, सहकार्य र सहिष्णुताको सकारात्मक सन्देश प्रवाहित गर्न सफल रहेको धारणा व्यक्त गरे । उनले सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामनासमेत गरे ।

ओलीले जमरा र अक्षता लगाउने चलनले दसैँलाई विशिष्ट पहिचान दिलाएको उल्लेख गर्दै पारिवारिक र सामाजिक रूपमा टाढिएको सम्बन्धलाई पनि दशैँको टीका र आशीर्वाद ग्रहण गर्ने परम्पराले फेरि नजिक ल्याइदिने बताए ।

कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले देश आर्थिक दृष्टिले सङ्कटमा आइपुगेको चर्चा गर्दै यसको जिम्मेवारी वर्तमान गठबन्धन सरकारले लिनुपर्ने जिकिर गरे । उनले महँगी आकासिएर गरिबको चुलो नबल्ने अवस्था आए पनि सरकारले चाडपर्वका बेला बजारलाई व्यवस्थित गर्न नसकेको आरोप लगाए । 

नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य धर्मशाला चापागाईँले देशमा नागरिकको बलिदानबाट प्राप्त लोकतान्त्रिक अधिकार खोस्न चाहने शक्ति सलबलाइरहेको हुँदा परिवर्तनका पक्षधरहरू सचेत रहनुपर्ने बताए ।

नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँले सबै राजनीतिक दलका नेतालाई आमन्त्रित गरेर दशैँमा शुभकामना आदानप्रदान गर्ने चलनले राजनीतिक शक्तिहरूबीच सम्बन्ध सौहार्दपूर्ण बनाउन मद्दत पुगेको बताए । 

विसं २०५१ मा नेपालमा पहिलो कम्युनिस्ट सरकार गठन भएपछि हरेक वर्षको दशैँको नवमीका बेला अध्यक्ष ओलीले गृह जिल्लामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आएको छ । एमाले झापा जिल्ला कमिटीले व्यवस्थापन गर्दै आएको यो कार्यक्रममा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका जिल्लामा रहेका शीर्ष नेता सहभागी हुँदै आएका छन् ।