झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशैँ नेपालीको ‘साझा चाड’ र ‘समृद्ध नेपाल र सुखी नेपाली’ को साझा आकाङ्क्षा भएको बताएका छन् । दशैँ, तिहार, छठ, नेपाल संवत् लगायतका चाडपर्वको अवसरमा आज शुक्रवार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा उनले दशैँको सांस्कृतिक महत्त्वमाथि चर्चा गर्दै सबै नेपालीले दसैँलाई उल्लासपूर्वक मनाउने गरेको बताए ।
अध्यक्ष ओलीले विविधतायुक्त नेपाली समाजमा दसैँले आपसी सद्भाव, सहकार्य र सहिष्णुताको सकारात्मक सन्देश प्रवाहित गर्न सफल रहेको धारणा व्यक्त गरे । उनले सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामनासमेत गरे ।
ओलीले जमरा र अक्षता लगाउने चलनले दसैँलाई विशिष्ट पहिचान दिलाएको उल्लेख गर्दै पारिवारिक र सामाजिक रूपमा टाढिएको सम्बन्धलाई पनि दशैँको टीका र आशीर्वाद ग्रहण गर्ने परम्पराले फेरि नजिक ल्याइदिने बताए ।
कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले देश आर्थिक दृष्टिले सङ्कटमा आइपुगेको चर्चा गर्दै यसको जिम्मेवारी वर्तमान गठबन्धन सरकारले लिनुपर्ने जिकिर गरे । उनले महँगी आकासिएर गरिबको चुलो नबल्ने अवस्था आए पनि सरकारले चाडपर्वका बेला बजारलाई व्यवस्थित गर्न नसकेको आरोप लगाए ।
नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य धर्मशाला चापागाईँले देशमा नागरिकको बलिदानबाट प्राप्त लोकतान्त्रिक अधिकार खोस्न चाहने शक्ति सलबलाइरहेको हुँदा परिवर्तनका पक्षधरहरू सचेत रहनुपर्ने बताए ।
नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँले सबै राजनीतिक दलका नेतालाई आमन्त्रित गरेर दशैँमा शुभकामना आदानप्रदान गर्ने चलनले राजनीतिक शक्तिहरूबीच सम्बन्ध सौहार्दपूर्ण बनाउन मद्दत पुगेको बताए ।
विसं २०५१ मा नेपालमा पहिलो कम्युनिस्ट सरकार गठन भएपछि हरेक वर्षको दशैँको नवमीका बेला अध्यक्ष ओलीले गृह जिल्लामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आएको छ । एमाले झापा जिल्ला कमिटीले व्यवस्थापन गर्दै आएको यो कार्यक्रममा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका जिल्लामा रहेका शीर्ष नेता सहभागी हुँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ कार्तिक २०८०, २१ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना