कांग्रेस कास्कीले बोलाएको बैठक कोरम नपुगेर स्थगित

सफल खबर संवाददाता

विहीबार, ०२ कार्तिक २०८०, ११ : ०३
कांग्रेस कास्कीले बोलाएको बैठक कोरम नपुगेर स्थगित

पोखरा । कांग्रेस कास्कीले गत आइतबार बोलाएको बैठक कोरम नपुगेर स्थगित भयो । त्यसअघिका दुईवटा नियमित बैठक सभापतिले विशेष कारण देखाएर स्थगित गरेका थिए । धेरैले अहिलेको बैठकमा कोरम नपुग्नुमा सभापतिको समस्या देखेका छन् । महिनैपिच्छे बस्नुपर्ने पूर्ण बैठक ३ महिनादेखि बस्न सकेको छैन । पार्टीभित्र गुट मौलाउँदै गएको र एक अर्काको अस्तित्व नस्विकार्ने परिपाटीका कारण दलको बैठक अनिश्चित बनेको भन्दै आलोचना हुन थालेको छ ।

 

खासगरी सभापति किशोरदत्त बरालविरुद्ध पदाधिकारी र सदस्यहरूले निरन्तर असहमति जनाएका छन् । चुनावताका सभापति शेरबहादुर देउवा निकट मानिएका बराल पछि महामन्त्री विश्वप्रकाश शर्माको पक्षमा माहौल बनाउन लागे । यद्यपि उनले पार्टीमा असल मान्छेलाई निर्वाचित गराउन आफूले प्रयास गरेको बताइरहेका छन् ।

 

लामो समय अध्यापन पेसालाई बिट मार्दै राजनीतिमा होमिएका उनी पहिलो प्रयासमै जिल्ला सभापतिमा निर्वाचित भए । गुट सिद्ध्याएर पार्टीको झन्डामुनि बस्नुपर्ने अभियान चलाएका उनी अल्पमतमा छन् । सभापति बरालविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रयास पनि यसअघि भएको थियो । तर भित्रभित्रै उक्त प्रयास तुहिएको छ । बरालमाथि गुटगत आक्रमण भने रोकिएको छैन । कांग्रेस स्रोतका अनुसार सभापतिलाई कमजोर साबित गर्नकै लागि गत आइतबार डाकिएको बैठकमा सदस्य र पदाधिकारी उपस्थित भएनन् ।

 

पछिल्लो २ महिनाको बैठक पार्टीको आन्तरिक कार्यक्रमका कारण नबसेको बताउँछन् जिल्ला सचिव भानु ढकाल । ‘कोरम नपुगेर बैठक नबसेको होइन । पार्टीकै कार्यक्रमका कारण स्थगित गरिएको हो,’ उनले भने, ‘अघिल्लो हप्ता पदाधिकारीको बैठक बसेको छ । पूर्ण बैठक नबसे पनि पदाधिकारीको बैठक रोकिएको छैन ।’ उनले पार्टीमा गुटगत समस्या भने झाँगिँदै गएको स्वीकारे । ‘गुटको समस्या राष्ट्रिय स्तरकै हो । कास्कीमा अझै मौलाएको छ,’ उनी भन्छन्, ‘यो भनेको चुनावमा भएको गठबन्धन देखिको हो ।’ अर्का एक पदाधिकारीले कांग्रेस कास्कीको बैठकमा एजेन्डामाथि भन्दा गुटगत आधारमा छलफल हुन थालेको बताए । ‘कोही राम्रा एजेन्डामा पनि समर्थन नगर्ने र कोही सच्याउनुपर्ने एजेन्डालाई समेत जयजयकार गर्ने परम्परा छ । त्यो बैठकमा पनि झल्किन्छ,’ उनले भने ।

 

सचिव ढकालले चाहि स्थानीय तह, सङ्घ र प्रदेशको निर्वाचनमा गरिएको गठबन्धनको असर अहिलेसम्म कायम रहेको बताए । ‘हिजो गठबन्धन गर्नु हुँदैन भन्ने र गर्नुपर्छ भन्नेबिच जुन खालको मत थियो । सोही मत अहिलेसम्म विभाजित छ,’ ढकाल भन्छन्, ‘यसलाई चिर्न नयाँ अभियान चलाएर मात्रै पार्टीलाई नियमित गर्न सकिन्छ । अन्यथा गाह्रो हुन सक्छ ।’ कास्की कांग्रेसमा हरेक महिनाको ५ गते कार्यसमिति बैठकको नियमित मिति छ । यसअघिका दुईवटा बैठक सभापति किशोरदत्त बरालले विशेष कारण देखाएर स्थगित गरेका थिए । त्यसपछिको बैठकमा गणपूरक सङ्ख्या नपुगेर बैठक स्थगित भयो । सोही विषयलाई लिएर पार्टीभित्र फेरि तरङ्ग सुरु भएको छ ।

‘उहाँ काठमाडौँ जानुपर्ने भएर बैठक स्थगित भएको छ । तर त्यसपछि बोलाइएको विशेष बैठकमा सदस्य साथीहरूको उपस्थिति भएन,’ उपसभापति युवराज कुँवरले भने, ‘विशेषगरी सभापति र पदाधिकारीसँग सदस्यहरूले अपमानित भएको गुनासो गरेका छन् । केही समस्या आएको जस्तो देखिन्छ ।’ विशेष बैठकमा आफू काठमाडौँ भएका कारण उपस्थित हुन नसकेको कुँवरले बताए । अहिलेको समस्या हल गर्न सभापति र पूर्व सभापति तथा शीर्ष नेताहरूसँग बसेर अन्तरक्रिया गर्नुपर्ने उनले सुनाए । ‘सभापतिसँग बसेर पार्टीमा देखिएको यो खालका समस्या समाधान गर्ने पहल गर्छौँ । साथीहरूबिच दुरी बढेको छ । यो दुरी नघटाई कन पार्टी चल्न सक्दैन,’ उनले भने ।

सभापति बरालले बैठक स्थगित हुनुमा खास कारण नभएको बताए।    ‘बैठकमा कहिले कोरम पुग्छ, कहिले पुग्दैन । यो सामान्य कुरा हो । तर सधैँ कोरम नपुगेर स्थगित भएको त होइन नि,’ उनले भने, ‘अहिले जसरी कुराहरू बाहिर आएको छ, यसले पार्टीलाई कमजोर बनाउँछ ।’ उनले सामान्य कुरालाई विवादित बनाएर सार्वजनिक गर्ने काम गर्न एउटा समूह नै लागेको बताए । ‘सामान्य कुरालाई कसरी विवादको रूपमा ल्याइयो भने पार्टीलाई कमजोर बनाउन सकिन्छ भनेर एक तप्काका मान्छे धेरै भित्रबाट क्रियाशील छन्,’ उनले भने, ‘उनीहरुले पार्टी बिग्रियो, बर्बादै भयो भनेका छन् । ती मान्छेहरू भनेको हिजो चुनावमा कांग्रेसलाई मत नदिने, अन्तर्घात गर्ने, भोट नहाल भन्नेहरूको जमात हो ।’ 

विवाद निकाल्ने कुनै एजेन्डा नपाएपछि कोरमको विषय निकालिएको उनको तर्क छ । तर कार्यसमितिका सदस्यहरूले भने पछिल्ला बैठकहरू कोरमकै कारण बस्न नसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस