एनआरएनएको लगानीलाई सरकारको प्रोत्साहन गर्छ : अर्थमन्त्री महत

सफल खबर संवाददाता

बुधबार, ०१ कार्तिक २०८०, १२ : ५७
एनआरएनएको लगानीलाई सरकारको प्रोत्साहन गर्छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सीप र पुँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलनमा बोल्दै मन्त्री महतले भने, ‘नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेका छन् ।’

‘युवाहरूलाई लागिरहेको होला, यहाँ केही छैन, अरू गइसके, म पनि विदेश जानैपर्छ,’ मन्त्री महतले भने, ‘यहाँ अवसर छ, अरू देश भौतिक रूपमा पूर्ण विकसित भइसकेका छन् । त्यहाँ गइसकेपछि एउटा संयन्त्रको पूर्जाका रूपमा फिट हुने हो । तर यहाँ प्रशस्त सम्भावना छ, त्यसलाई हेर्ने दृष्टिकोण सूक्ष्म चाहिन्छ ।’

मन्त्री महतले हाइड्रोपावरमा नेपालले नेटवर्क बनाइएको भन्दै निजी क्षेत्रबाट ३ सय मेगावाट जलविद्युत उत्पादन भइरहेको बताए । सयौं आयोजनामा हजारौं नेपालीले लगानी गरिरहेकाले माथिल्लो अरुण परियोजना विश्व बैंकको नेतृत्वमा लगानीको क्रममा रहेको र दूधकोसीमा एसियाली विकास बैंकले लगानी गर्ने जनाएकोले नेपालले ऋण सहुलियत दरमा मागेका मन्त्री महतको भनाइ छ ।

‘आर्थिक वृद्धिको महत्वपूर्ण हिस्सा जलविद्युत बन्नेछ । यसमा हामीले धेरै अनुभव र ज्ञान हासिल गरिसकेका छौं, अब यसमा गैरआवासीय नेपाली साथीहरू जोडिनुपर्छ,’ उनले भने, ‘हामी बूढीगण्डकी जलाशययुक्त आयोजनालाई अगाडि बढाउन चाहन्छौं ।’ मन्त्री महतले भने, ‘लगानीको दोस्रो सम्भावना सूचना प्रविधि क्षेत्रमा छ । बेलायतमा वार्षिक ५० मिलियन सफ्टवेयर निर्यात हुँदो रहेछ । बेलायत मात्र होइन, अन्य देशमा पनि सफ्टवेयर निर्यात भइरहेको छ । सफ्टवेयर निर्यातबाट असीमित आम्दानी गर्न सकिन्छ ।’

‘जे चलिरहेको छ, त्यसैले चल्छ भन्ने हाम्रो मानसिकता छ, यसलाई तोड्न केही समय लाग्ने बताउँदै मन्त्री महतले भने, ‘अर्को क्षेत्र भनेको पर्यटन हो । यसले पनि आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । मध्यपूर्वलगायत कोरिया गएकाहरू फर्किंदा सानो पुँजीसँगै ज्ञान पनि लिएर फर्किएका छन् । उनीहरूले यही सानो व्यवसाय सुरु गरिसकेका छन् । हामीले उत्पादनलाई सुरक्षा दिने नीति लिएका छौं । अनुदार र करको सुरक्षा सरकारले गर्छ । यसबाट उत्पादन बढाउने सरकारको योजना छ ।’

‘नेपालमा धेरै नकरात्मक भावना फैलिएको छ, अब सकारात्मक भावना फैलाऊँ । नकारात्मक कुरा गर्दा सामाजिक सञ्जालमा त्यसको फ्लोइङ बढी हुन्छ । यो देशमा केही हुन्न, यिनीहरूले केही गर्दैनन्, यिनीहरू बिगार्न मात्र आएका हुन् । खराब मात्र गर्छन् भन्ने भावना फैलाइएको छ । सबै क्षेत्रमा राम्रा मान्छे पनि छन्,’ मन्त्री महतले भने । उनले सबै चोरै हुन्, सबै फटाह हुन् भनेर एउटै बास्केटमा नहाल्न पनि आग्रह गरे ।

०४६ सालपछि कुल गार्हस्थ्य उत्पादनमा ६० गुणाले वृद्धि भएको, प्रतिव्यक्ति आय ७ गुणाले वृद्धि भएको, औसत आयु ५४ वर्षबाट ७२ वर्ष भएको मन्त्री महतले बताए । राजस्व अनुपात कुल गार्हस्थ्य उत्पादनको अनुपातमा दोब्बर बढेको, विद्युत पहुँच ९७ प्रतिशतभन्दा बढी रहेका, गाउँगाउँमा सडक सञ्जाल पुगेको, बालमृत्युदर २७ मा झरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस