एसियन गेम्सका विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरु सम्मानित

सफल खबर संवाददाता

बुधबार, ०१ कार्तिक २०८०, ०७ : ५५
एसियन गेम्सका विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरु सम्मानित

काठमाडौँ । एसियन गेम्स २०२३ र ९ औँ राष्ट्रिय खेलकुद–२०७९ मा विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई सम्मान वितरण गरिएको छ ।  गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को मुख्यालयमा आयोजित कार्यक्रममा आइसीसी सचिव प्रविण गुरुङ प्रमुख अतिथि र एनआरएनए, अइसीसीका पूर्व अध्यक्ष कुमार पन्त विशिष्ट अतिथि थिए । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व संयोजक एवं ९ औँ राष्ट्रिय खेलकुद–२०७९ का संयोजक मनोज कुमार श्रेष्ठको सभापतित्वमा  भएको उक्त कार्यक्रममा  राखेप पूर्व सदस्य सचिव केशव कुमार बिष्टले आफ्नो मन्तव्य राख्दै यदि एनआरएनएले खेलाडीहरूका निम्ति अभ्यास एवं प्रशिक्षण स्थल निर्माण गर्न चाहे आफूले जग्गा उपलब्ध गराउन पहल गर्ने बताए । 

साथै एनआरएनएलाई खेलकुदका लागि विशेष योगदान पुर्‍याए बापत केशव कुमार विष्टलाई कार्यक्रममा सम्मानित गरिएको थियो । 

एनआरएनए, आइसीसी सचिव एवं आउँदो कार्यकाल २०२३–२०२५ का निम्ति उपमहासचिव पदका उम्मेदवार प्रविण गुरुङले आफू पनि पहिले खेलाडी नै रहेको हुनाले खेलकुदका निमित्त हरहमेसा सहयोग रहने कुरामा प्रतिबद्धता जनाए । 

कार्यक्रममा राखेप कार्यकारी सदस्य एवं एनआरएनए स्पोर्टस एकेडेमी सल्लाहकार एकेद्र बहादुर कुँवरले पनि आफ्नो मन्तव्य राखेका थिए भने कार्यक्रममा उनी पनि सम्मानित भए । साथै खेलकुदका लागी विशेष योगदान पुर्‍याएका एनआरएनए आइसीसी सचिव प्रविण गुरुङलाई कार्यक्रममा सम्मानित गरिएको थियो । 

चीनको ह्याङ्गजाउमा गत २३ सेप्टेम्बर देखि ८ अक्टोबर २०२३ मा सम्पन्न भएको एसियन गेम्स प्रतियोगितामा कराँतेतर्फ रजत पदक विजेता एरिका गुरुङलाई कार्यक्रममा पदक, प्रमाणपत्र र नगद पुरस्कारले सम्मानित गरिएको थियो । त्यसैगरि कांस्य पदक विजेता कबड्डीका खेलाडीहरूलाई पनि पदक, प्रमाणपत्र र नगद पुरस्कारले सम्मानित गरिएको थियो ।

९ औँ राष्ट्रिय खेलकुद २०७९ प्रतियोगिताका प्रशिक्षकहरू ज्ञानेन्द्र तिमल्सिना, प्रविणकाजी श्रेष्ठ, रवि शाही, राज श्रेष्ठ, राजन खत्री, राजेश श्रेष्ठ, राजु सिंह, राकेश बज्राचार्य, स्वयम्भु राज डंगोल र सजेश मानन्धर लगायत अन्य अफिसियलहरुलाई पदक र प्रमाणपत्रले सम्मान गरिएको थियो । 

कार्यक्रममा योजक मनोज कुमार श्रेष्ठ ९गोर्खाली०ले ९ औँ राष्ट्रिय खेलकुद २०७९ र एसियन गेम्स २०२३ मा विजेता खेलाडीहरूलाई बधाई एवं शुभकामना दिए । एनआरएनए स्पोर्टस एकेडेमीका खेलाडीहरूले ९ औँ राष्ट्रिय खेलकुद २०७९ प्रतियोगितामा २४ वटा पदक ल्याउन सफल भएकोमा यस उपलब्धिका निम्ति राखेप कार्यकारी सदस्य एवं एनआरएनए स्पोर्टस एकेडेमी सल्लाहकार एकेद्र बहादुर कुँवरलाई पनि श्रेष्ठले विशेष धन्यवाद दिए ।

एनआरएनए स्पोर्टस एकेडेमीलाई यो अवस्थासम्म ल्याउन विशेष योगदान दिएका सबै अफिसियल, गुरुहरु र सहयोगी हातहरूलाई कार्यक्रमका सभापति मनोज कुमार श्रेष्ठले विशेष धन्यवाद दिए । 

 

प्रतिक्रिया दिनुहोस