अञ्जनलाई सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाउने अवसर

सफल खबर संवाददाता

मंगलबार, ३० असोज २०८०, १६ : १५
अञ्जनलाई सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाउने अवसर

काठमाडौं । फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोटको दोस्रो लेगमा नेपालले मंगलबार लाओससँग खेल्दैछ । दोस्रो चरणमा प्रवेश गर्नका लागि नेपालका लागि यो खेल महत्वपूर्ण छ ।यस्तै फरवार्ड अञ्जन विष्टका लागि पनि यो खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउने अवसर हुनेछ ।

लाओसविरुद्ध एक गोल गरेमा अञ्जन नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी बन्नेछन् ।बिहीबार दशरथ रंगशालमा भएको लाओसविरुद्धको पहिलो लेगको खेलमा अञ्जनले एक गोल गर्दै हरि खड्का र निराजन रायमाझीको नाममा रहेको १३ गोलको कीर्तिमान बराबरी गरेका थिए ।

घरेलु मैदानमा पहिलो हाफमा एक गोलले पछि परेको अवस्थामा अञ्जनले दोस्रो हाफमा गोल फर्काउँदै नेपालको सम्भावित संकट टारेका थिए ।विंगबाट खेल्ने भएपनि पछिल्लो समय अञ्जन नेपालको मुख्य गोलकर्ताको रुपमा रहँदै आएका छन् । गत असारमा भारतको बेंगलुरुमा भएको साफ च्याम्पियनसिपमा नेपालले समूह चरणमा दुई गोल गर्दा अञ्जन र आशिष चौधरीले एक/एक गोल गरेका थिए ।

यस्तै म्यानमारविरुद्ध भएको दुई मैत्रीपूर्ण खेलमा नेपालले कुनै गोल गर्न सकेन । पहिलो खेलमा म्यानमारविरुद्ध नेपालले पेनाल्टी प्राप्त गरेपनि अञ्जन त्यसमा चुकेका थिए।पछिल्लो एक वर्षमा भने अञ्जनले ६ गोल गरिसकेका छन् । गत सेप्टेम्बरमा घरेलु मैदानमा भएको बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा करियरको पहिलो ह्याट्रिक गरेका अञ्जनले पाकिस्तान विरुद्ध मैत्रीपूर्ण खेलमा पनि एक गोल गरेका थिए । त्यसपछि साफ च्याम्पियनसिपमा कुवेत विरुद्ध र भर्खरै विश्वकप छनोटमा लाओस विरुद्ध गोल गरेका हुन् ।

सन् २०१४ मा फिलिपिन्स विरुद्ध सन्दीप राईको स्थानमा मैदान प्रवेश गर्दै नेपालका लागि डेब्यु गरेका अञ्जनले सन् २०१९ मा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेईविरुद्ध पहिलो गोल गरेका थिए । त्यो खेलमा अञ्जनले दुई गोल गरेका थिए ।

अञ्जनले सन् २०२१ मा सर्वाधिक ५ गोल गरेका थिए । जहाँ उनले इराक र भारतविरुद्ध मैत्रीपूर्ण खेलमा र चाइनिज ताइपेई विरुद्ध विश्वकप छनोटमा गोल गरेका थिए । यस्तै माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा श्रीलंका र बंगलादेशविरुद्ध पनि उनले गोल गरेका थिए ।

अञ्जन अब लामो समयदेखि कायम रहेको हरि खड्का र निराजन रायमाझीको कीर्तिमान तोड्नबाट एक गोलले मात्र टाढा छन् । भर्खर २५ वर्ष पुगेका अञ्जनले खेललाई निरन्तरता दिए यो कीर्तिमान भंग गर्ने पक्का नै छ ।तर लाओस विरुद्ध पनि नेपालका लागि गोल गर्ने मुख्य खेलाडीका रुपमा अञ्जन नै हुनेछन् ।

पछिल्लो समय राष्ट्रिय टिमका अधिकांश खेलाडी विदेश पलायन भइरहनु र अनुभवी खेलाडीहरु भरत खवास, नवयुग श्रेष्ठ जस्तै खेलाडी अब टिममा पर्न छाड्नुले पनि नेपाली टिमको अग्रपंक्तिमा अञ्जन नै अनुभवी खेलाडीको रुपमा छन् ।

पहिलो लेगमा लाओससँग खेल बराबरी हुँदा अञ्जनले कीर्तिमान बराबरी गरेर पनि खुशी थिएनन् । उनले आफूले कहिल्यै पनि कीर्तिमानको लागि नखेलको प्रतिक्रिया दिएका थिए । ‘म कीर्तिमानका लागि खेल्दिनँ । टिमको जितको लागि खेल्छु र टिमले जितेपछि स्कोर त आफैँ भइहाल्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस