मूल्यवृद्धि ८ दशमलव १९ प्रतिशत पुग्यो, यातायातको मुद्रास्फीति ०.१८ प्रतिशतले घट्यो

सफल खबर संवाददाता

मंगलबार, ३० असोज २०८०, १४ : ३८
मूल्यवृद्धि ८ दशमलव १९ प्रतिशत पुग्यो, यातायातको मुद्रास्फीति ०.१८ प्रतिशतले घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनाको तथ्याङ्कमा आधारित वित्तीय स्थिति सार्वजनिक गरेको हो ।

 

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक अवस्थाको स्थितिअनुसार गत भदौ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फिति आठ दशमलव १९ प्रतिशत पुगेको छ ।​सरकारले चालु आर्थिक वर्षमा मूल्यवृद्धि साढे छ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।

 

 

राष्ट्र बैंकको गत भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार मरमसलामा ४५ दशमलव ४६ प्रतिशतसम्म मूल्यवृद्धि देखिएको छ ।त्यस्तै, चिनी तथा चिनीजन्य वस्तुमा १७ दशमलव ८६, तरकारीमा १४ दशमलव ५१, खाद्य तथा खाद्यजन्य पदार्थमा १३ दशमलव ३८ र दुग्ध पदार्थ तथा अण्डामा १२ दशमलव ६० प्रतिशत मूल्य बढेको छ ।

यो अवधिमा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क भने १३ दशमलव ०८ प्रतिशतले घटेको छ ।गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५ दशमलव ५५, विविध वस्तु तथा सेवाहरू १२ दशमलव २१ प्रतिशत, शिक्षा क्षेत्रमा नौ दशमलव १० प्रतिशत, घरायसी उपयोगका वस्तुमा आठ दशमलव ११ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणमा छ दशमलव ५९ प्रतिशतले मूल्य बढेको छ ।

भदौ मसान्तसम्ममा यातायात क्षेत्रको मुद्रास्फिति शून्य दशमलव १८ प्रतिशतले घटेको छ ।यो अवधिमा काठमाडौं उपत्यकाको मुद्रास्फिति नौ दशमलव ८३ प्रतिशत, तराईको सात दशमलव ०३ प्रतिशत, पहाडको आठ दशमलव ०९ प्रतिशत र हिमालको ११ दशमलव ३२ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस