एउटै विद्यालयमा ३९ अक्षयकोष

सफल खबर संवाददाता

आइतबार, २८ असोज २०८०, १३ : ०६
एउटै विद्यालयमा ३९ अक्षयकोष

वालिङ । यहाँको पूर्णामृत भवानी माध्यमिक विद्यालयमा अक्षयकोषको सङ्ख्या ३९ पुगेको छ । वालिङ-१० फूलबारीमा तीन वर्षअघि पूर्णामृत भवानी मावी र कालिका आधारभूत विद्यालय एकापसमा मर्ज भएपछि विद्यालयमा अक्षयकोषको सङ्ख्या बढेको हो ।

विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुर्‍याउने उद्देश्यसहित दाताहरूले अक्षयकोषको स्थापना गरेका हुन् । पूर्णामृत भवानी माविका १९ र कालिका आधारभूत विद्यालयका २० गरी अक्षयकोषको सङ्ख्या ३९ पुगेको हो ।

“विद्यालयमा संस्थागत, सामूहिक वा व्यक्तिगतरुपमा पनि अक्षयकोष भएका छन्”, विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद अर्यालले भने, “दाताहरूले जुन शीर्षकका लागि अक्षयकोष स्थापना गरेका हुन् । सोही शीर्षकमा खर्च हुन्छ ।” विद्यालयको वार्षिकोत्सवका अवसरमा दाताकै उपस्थितिमा अक्षयकोषको रकम खर्च गरिने उनको भनाइ छ ।

हालसम्म विद्यालयमा स्थापना भएका अक्षयकोषमध्ये सबैभन्दा ठूलो राशिको रु. तीन लाख ३३ हजार तीन सय ३३ र थोरै राशिको रु. दश हजार ११ को रहेको छ । अक्षयकोषको व्यवस्थापन गर्नका शिक्षक गोपालधन सुवेदीको संयोजकत्वमा डिल्लीराम बगाले र अर्जुनप्रसाद तिवारी सदस्य रहेको ‘अक्षयकोष छात्रवृत्ति व्यवस्थापन समिति’ गठन गरिएको छ । गरिब, जेहेन्दार, सर्वोत्कृष्ट छात्रछात्रा, अतिरिक्त क्रियाकलाप, अनुशासित विद्यार्थी लगायतका विभिन्न शीर्षकमा छात्रवृत्ति वितरण गर्ने गरिएको छ ।

विद्यालयमा हाल अक्षयकोषको कूल रकम रु. सत्र लाखभन्दा बढी पुगेको छ । उक्त विद्यालय २०१९ सालमा स्थापना भएको स्याङ्जाकै पुरानो मध्येको एक विद्यालय हो ।

 

प्रतिक्रिया दिनुहोस