कञ्चनपुरमा भएको झडपमा प्रहरीसहित आठ जना घाइते, कर्फ्यू आदेश जारी

विहीबार, ०७ भदौ २०७५, १४ : ४९
कञ्चनपुरमा भएको झडपमा प्रहरीसहित आठ जना घाइते, कर्फ्यू आदेश जारी

भीमदत्तनगर  । कञ्चनपुर सदरमुकाम भीमदत्तनगरमा आज आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा दुई प्रहरीसहित आठ जना घाइते भएका छन् ।

यहाँको ट्राफिक चोकमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपपछि प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १७ वर्षीय अर्जुन भण्डारीलाई गोली लागेको छ भने अन्य पाँच आन्दोलनकारीलाई गोलीको छर्रा लागेको महाकाली अञ्चल अस्पतालले जनाएको छ ।

घाइते हुनेमा तेज भट्ट, कृत पनेरु, मनोज बुढा, सरोज खड्का र सन्तोष कठरिया रहेका छन । बायाँ खुट्टामा गोली लागेका भण्डारीलाई थप उपचारका लागि धनगढी पठाइएको अस्पताल स्रोतले जनाएको छ । आन्दोलनकारीको ढुङ्गा लागेर प्रहरी हवल्दार हर्कबहादुर पाल र जवान महेश भट्ट घाइते हुनुभएको छ । घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरवासी आन्दोलनमा छन् । गत आइतबार भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई हत्याको अभियुक्त भन्दै प्रहरीले सार्वजनिक गरेपछि आन्दोलन झन् चर्किएको हो । मानसिक सन्तुलन गुमाएका विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको आरोप लगाउँदै स्थानीयवासी तीन दिनदेखि आन्दोलनमा छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले झडपमा घाइते भएको बारे जानकारी लिइरहेको बताउनुभयो ।

घटनाको छानबिनका लागि वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दलाई कञ्चनपुर खटाएको छ । उहाँले आजैदेखि घटनाको छानबिन थाल्नुभएको प्रहरी स्रोतले जनाएको छ ।

आन्दोलन उग्र बनेपछि कर्फ्यू आदेश जारी गरिएको छ । आन्दोलनले उग्र रुप लिएपछि बिहीबार दिउँसोबाट अनिश्चित कालका लागि कर्फ्यू आदेश जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।  (रासस)

यो पनि
निर्मला बलात्कार हत्या प्रकरण : कञ्चनपुरमा प्रहरीको गोली लागेर ४ जना घाइते

प्रतिक्रिया दिनुहोस