कञ्चनपुर । १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै कञ्चनपुरमा भइरहेको प्रदर्शनमा प्रहरीले दमन गरेको छ । प्रहरीको गोली लागेर ४ जना घाइते भएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार प्रहरीले जिल्ला प्रशासन कार्यालय अगाडी दर्जनौँ राउण्ड गोली चलाएको छ । घाइतेको संख्या अझै बढी हुन सक्ने बताइएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले ४ जना प्रदर्शनकारी घाइते भएको जानकारी आफूलाई आएको जानकारी दिए ।
भीमदत्तनगर बजार, भाँसि, सुडा, लालपुर, सिसैया, दैजी र चम्फापुर लगायत क्षेत्रमा प्रदर्शनकारीहरूले सडक र बजार क्षेत्रका ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
जिल्ला सदरमुकाम भीमदत्तनगरबाट सञ्चालन हुने यातायात सेवा समेत पूर्ण रुपमा ठप्प रहेको छ । अपृय घटना हुन नदिन ठाउँ ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मीलाई खटाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै चार दिनदेखि प्रदर्शन हुँदै आएको छ । प्रहरीले बलात्कार आरोपमा एक जनालाई पक्राउ गरेपनि प्रदर्शनकारीले बास्तविक बलात्कारी अझैं पक्राउ पर्न नसकेको दाबी गर्दै आएका छन् । गत साउन १० गते साथिको घर बाट फर्किने क्रममा निर्मलाको बालात्कार पछि हत्या गरेको अवस्थामा शव उखु बारीमा फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस