इजरायली प्रधानमन्त्री बेन्जामिनको चेतावनी- युद्ध हमासले सुरु गर्‍यो यसको समाप्ती हामी गर्नेछौँ

एजेन्सी

शुक्रबार, २६ असोज २०८०, १५ : ४१
इजरायली प्रधानमन्त्री बेन्जामिनको चेतावनी- युद्ध हमासले सुरु गर्‍यो यसको समाप्ती हामी गर्नेछौँ

काठमाडौं । इजरायल-प्यालेस्टाइन युद्ध सेलाउनको सट्टा झनै चर्किएको छ । शनिबार बिहान हमासले इजरायलमा गरेको आक्रमक हमलामा परी हालसम्म २ हजार ३०० इजरायली घाइते भएका छन् भने ७ सयभन्दा बढीको मृत्यु भएको छ । युद्ध सेलाउनको सट्टा झनझन चर्किएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासलाई चेतावनी दिएका छन् ।

‘इजरायल अहिले युद्धमा छ । हामीले यो युद्ध चाहेका थिएनौं । यो हामीमाथि क्रूर तरिकामा जबरजस्ती आक्रमण गरिएको थियो । इजरायलले यो युद्ध सुरु नगरे पनि, यसलाई समाप्त भने अवश्य गर्नेछ,’बेन्जामिनले राष्ट्रलाई सम्बोधन गर्दै भने ।

हमासलाई सम्बोधन गर्दै प्रधानमन्त्री बेन्जामिनले थपे, ‘कुनै समय यहूदी जनता राज्यविहीन थिए, रक्षाहीन थिए । अहिले हमासले हामीमाथि आक्रमण गरेर ऐतिहासिक गल्ती गरेको छ । हामी यसको मुल्य यसरी चुकाउनेछौ की जसलाई हमासले मात्र हैन, इजरायलका अन्य शत्रुहरूले पनि दशकौंसम्म सम्झनेछन् ।’

‘निर्दोष इजरायलीहरू विरुद्ध हमासले गरेको आक्रमणहरू मनै हल्लाउने खालका छन् । परिवारहरूलाई उनीहरूको घरमै मार्ने, बाहिरी उत्सवमा सयौं युवाहरूको हत्या गर्ने र कैयौँ महिला, बालबालिका र वृद्धहरूको अपहरण गर्ने काम कदापि माफीदायी छैन’, उनले बन्धक बनाइएकाहरूको अवस्थालाई पनि हाइलाइट गर्दै भने, ‘हमासका आतंककारीहरूले बालबच्चाहरूलाई समेत जलाएर मारिदिए । हमास आइसिस हो ।’

हमासलाई आइसिसको रूपमा चिनाउँदै उनले ‘सिभिलाइजेसन फोर्स’हरुलाई हमास विरुद्ध एकजुट हुन र पराजित गर्न आह्वान गरेका छन् ।उनले भाषणमा अमेरिकी राष्ट्रपति जोई बिडेनसँग निरन्तर सम्पर्कमा रहेको बताउँदैै बिडेन र अन्य विश्वका नेताहरूलाई इजरायलको समर्थनको लागि धन्यवाद समेत दिए ।

‘इजरायल इजरायली जनताको लागी मात्र हमाससँग लडिरहेको छैन। इजरायल बार्बरिजम(संस्कृति र सभ्यताको अभाव महसुस गर्नु) विरुद्ध खडा हुने हरेक देशको लागि लडिरहेको छ । इजरायलले यो युद्ध जित्नेछ। जब इजरायलले जित्छ, सम्पूर्ण सभ्य संसारले जित्नेछ,’नेतान्याहुले आफ्नो भाषणको समापनमा भने ।

सीएनएनका अनुसार हमासले बन्धकहरूलाई चेतावनी बिना नै मृत्युदण्ड दिइने र इजरायलले गाजाका मानिसहरूलाई निशाना बनाएमा हत्या प्रसारण हुने बताएको छ भने हमासले इजरायली सेनाका अधिकारीहरूसहित १०० भन्दा बढी बन्धकहरूलाई बन्धी बनाएकोसमेत दाबी गरेको छ ।

त्यस्तै, टाइम्स अफ इजरायलले रिपोर्ट गरे अनुसार इजरायलले हमासविरुद्ध बदला लिन तीन लाख सेना परिचालन गरेको छ । यो सन १९७३ मा ‘योम किप्पुर युद्ध’ पछि कै सबैभन्दा ठूलो परिचालन हो ।