नारायणगढ मुग्लिन सडक निर्माणमा ठेकेदारको लापरवाही : कारवाही हुनुपर्नेमा उल्टै समय थप

शनिबार, ०८ पुस २०७४, १७ : ०३
नारायणगढ मुग्लिन सडक निर्माणमा ठेकेदारको लापरवाही : कारवाही हुनुपर्नेमा उल्टै समय थप

चितवन । नारायणगढ देखि मुग्लिनसम्मको सडक बिस्तारको काम गर्न सुरु गरिएको अढाई वर्षमा दुईतिहाईमात्र काम भएको छ । गतवर्ष चैत मसान्तमै काम सक्ने गरी दुईवर्षे आयोजना सुरु भएपनि भूकम्प, नाकाबन्दी लगायतका कारण देखाउँदै ठेक्काको म्याद पटकपटक थप हुँदै आएको छ । अझै म्याद थप गरेपनि यस वर्षको चैत मसान्तसम्म सम्पूर्ण काम सक्नुपर्नेछ, तर निर्माण कम्पनीका ठेकेदारले काममा लापरबाही गर्दै ढिलाई गर्दा समयमै आयोजना सम्पन्न हुने कुरा शंकाको घेरामा छ ।

भूकम्प, नाकाबन्दी, इन्धन अभावलगायतका कारणले काममा अवरोध आएपछि २०७३ चैतमा सम्पन्न हुनुपर्ने आयोजनाको म्याद पटकपटक गरी सन् २०१८ फेब्रुअरीसम्म थप भएको छ । निर्माणको जिम्मा लिएका कम्पनीहरुले तोकिएको काम तोकिएकै समयमा सम्पन्न नगरकोले जरिबाना तिराइएको छ । आयोजनाको म्याद अझै थपिने र दुईवर्षे आयोजना तीन वर्षसम्म पुग्ने संकेत देखिएको छ । अबको चार महिनामा एकतिहाई काम सक्नुपर्ने र सडक बिस्तारकै क्रममा ठाउँठाउँमा पुलको निर्माण गर्नुपर्ने भएकोले यस वर्षको अन्तसम्ममा पनि काम सम्पन्न हुने सम्भावना भने कमै छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाले तोकिएको समयमा काम पूरा नगरेको भन्दै दुई वटा ठेकेदार कम्पनीबाट ७५ लाख रुपैयाँ जरिबाना असुल गरेको छ । आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार पहिलो खण्ड आँपटारीदेखि झण्डै १३ किलोमिटर सडकखण्ड निर्माणको जिम्मा लिएको बिएलए श्रेष्ठ जेभी निर्माण कम्पनी र तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको सुप्रिम रौताहा जेभी निर्माण कम्पनीलाई जरिबाना गरिएको हो ।

पहिलो खण्डको बिएलए तथा श्रेष्ठ निर्माण कम्पनीबाट आठ लाख रुपैयाँ र तेस्रो खण्डको सुप्रिम तथा रौताहा निर्माण कम्पनीबाट ६७ लाख रुपैयाँ जरिबाना असुल गरिएको छ । नारायणगढ मुग्लिन सडक पुनःनिर्माणको काम प्रभावकारी हुन नसक्दा यात्रुले सास्ती पाउँदै आएका छन् । कहिले सुख्खा पहिरो त कहिले सवारी दुर्घटनाको कारणले यात्रुले ज्यान समेत गुमाउनु परेको छ ।

देशको लाईफलाईनको रुपमा रहेको सडक निर्माणमा ढिलासुस्ती गरेका कारण पहिलो १५ महिनामा १५ प्रतिशत, दोस्रो आठ महिनामा ५० प्रतिशत र तेस्रो आठ महिनामा पूरै काम सम्पन्न गर्नु पर्ने सम्झौतामा रहेको थियो । एक र तीन नम्बर खण्डका ठेकेदार कम्पनीले तोकिएको काम सम्पन्न गर्न नसकेपछि आयोजनाले जरिबाना लगाएको हो । खनालका अनुसार मंसिर महिनामा उनीहरुले पाउने भुक्तानीबाट जरिबाना असुल गरिएको छ ।

सम्झौताको समयमा पहिलो आठ महिनामा निर्धारित काम नभएमा शुन्य दशमलव ००७५ प्रतिशत, दोस्रो आठ महिनामा काम सम्पन्न नभएमा शुन्य दशमलव ०२५ प्रतिशत र तेस्रो आठ महिनामा काम सम्पन्न नभएमा शुन्य दशमलव ०५ प्रतिशत जरिबाना तिर्नुपर्ने सम्झौतामा उल्लेख छ । ३२ दशमलव २ किलोमिटर लामो सडकको हालसम्म १३ दशमलव ५ किलोमिटर सडक एक तहको कालोपत्रे भएको छ । तीन तह कालोपत्रे गर्नुपर्ने हुन्छ । बाँकी भागको कालोपत्रे र आठ सय मिटर भित्तो काट्ने काम बाँकी रहेको छ ।

पहिलो खण्डको ६१ करोड रुपैयाँ, दोस्रो खण्डको ९८ करोड रुपैयाँ र तेस्रो खण्डको एक अर्ब ३१ करोड रुपैयाँमा ठेक्का दिइएको थियो । राजधानी प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग भएकाले सरकारले यस सडकलाई उच्च प्रथामिकतामा राखेपनि विभिन्न बहानामा निर्माण कम्पनीले काममा ढिलाई गरिरहेका छन् । तेस्रो पटक मिति थप गरेपछि पहिलो खण्ड आँपटारीदेखि झण्डै १३ किलोमिटर सडकखण्ड निर्माणको जिम्मा लिएको बिएलए तथा श्रेष्ठ निर्माण कम्पनी र तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको सुप्रिम तथा रौताहा निर्माण कम्पनीको ठेक्का अवधि आगामी फेब्रुअरी २०१८ सम्म पुगेको छ । पहिलो खण्डको मिति १४ फेब्रअरी र तेस्रो खण्डको २० फेब्रअरीसम्म मिति थप गरिएको छ ।

आयोजना इञ्जिनियर खनालका अनुसार बढीमा ४५ दिनसम्म म्याद थप हुन सक्ने देखिएको छ । थप गरिएको समय अनुसार आउँदो चैत मसान्तसम्ममा सडक सम्पन्न हुनुपर्ने हुन्छ ।  हालसम्म सडकको ६६ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । पहिलो खण्डमा ६७ दशमलव १ प्रतिशत, दोस्रो खण्डमा ६९ दशमलव ५ प्रतिशत र तेस्रो खण्डमा ५८ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

मुग्लिन सडक मर्मतको काम २०७२ साल वैशाखदेखि सुरु भएपनि भूकम्पले तीन महिना रोकिएर भदौमा केही मात्रामा काम पुनः सुरु भएको थियो । त्यसपछि मधेश आन्दोलन र भारतको अघोषित नाकाबन्दीले सडक बिस्तारको कामै बन्द भयो । आँपटारीदेखि दासढुंगासम्मको १० दशमलव ४५ किलोमिटर लामो एक नम्बर खण्डमा बीएलए र श्रेष्ठ कन्स्ट्रक्सन्स, दासढुंगादेखि सिमलतालसम्मको १० दशमलव ६९ किलोमिटर लामो दुई नम्बर खण्डमा उडहिल र लामा कन्स्ट्रक्सन्स एवम् सिमलतालदेखि मुग्लिनसम्मको १२ दशमलव ८८ किलोमिटर लामो तीन नम्बर खण्डमा सुप्रिम र रौताहा कन्स्ट्रक्सन्सले ज्वाइन्टभेञ्चरमा काम गरिरहेका छन् । तोकिएको समयमा तोकिएको काम पूरा नगरेकोले बीएलए श्रेष्ठ जेभी र सुप्रिम रौताहा जेभीले ७५ लाख जरिबाना तिरेका हुन् ।

एसियन हाइवे अन्तर्गतको एएचफोरटू खण्ड अन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्ड पर्दछ । विश्व बैंकको दुई अर्ब ९० करोड रुपैयाँ आर्थिक सहयोगमा नारायणगढ मुग्लिन सडक आयोजनाले आँपटारीदेखि मुग्लिनसम्मको ३४ किलोमिटर सडकलाई तीन खण्डमा छुट्याएर मर्मत र चौडा पार्ने काम गरिरहेको छ । चीनहुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा, नौबिसे, मुग्लिन, नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मुजफ्फरपुरहुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो । आयोजना सम्पन्न भएपछि आँपटारीदेखि मुग्लिनतर्फको १६ किलोमिटरसम्म सडक चौडाई कालोपत्रे नौ मिटरसहित ११ मिटर र त्यसपछि मुग्लिनसम्मको सडक कालोपत्रे सात मिटरसहित नौ मिटरको हुनेछ ।

प्रतिक्रिया दिनुहोस