क्रोएसिया घरेलु मैदानमै टर्कीएसँग पराजित, स्पेनको जीत

एजेन्सी

शुक्रबार, २६ असोज २०८०, ०९ : ४२
क्रोएसिया घरेलु मैदानमै टर्कीएसँग पराजित, स्पेनको जीत

एजेन्सी । सन् २०२४ मा जर्मनीमा हुन गइरहेको युरोकप फूटबलको छनोटमा २०१८ को विश्वकप उपविजेता क्रोएसिया घरेलु मैदानमै पराजित भएको छ ।

क्रोएसिया बिहीवार राति टर्कीएसँग घरेलु मैदानमै १–० गोल अन्तरले पराजित भएको हो । 

लुका मोड्रिचजस्ता स्टार खेलाडी सम्मिलित क्रोएसियालाई पराजित गर्न बरिस येल्माजले खेलको ३० औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो ।  

समूह ‘ए’को खेलमा घरेलु टोली स्पेनले स्कटल्यान्डलाई २–० ले पराजित गरेको छ । स्पेनको जीतमा  कप्तान​ अल्भारो मोराटा र ओइहान सानसेटले १–१ गोल गरेका हुन् । 

यस जितसँगै स्पेन ६ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । पहिलो हार बेहोरेको स्कटल्यान्ड पनि १५ अंक जोडेर शीर्ष स्थानमा यथावत छ ।

इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड अर्लिङ हालान्ड चम्किँदा नर्वेले सानदार जित दर्ता गरेको छ ।

समूह ‘ए’कै खेलमा नर्वेले बिहीवार राति घरेलु टोली साइप्रसमाथि ४–० को फराकिलो जीत दर्ता गरेको हो । नर्वेको जीतमा हालान्डले २ गोल गरे । यस्तै एलेसान्दार सोर्लोथ र फ्रेडरिक अर्सनेसले पनि समान १–१ गोल गर्न सफल भए ।

यसैगरी समूह ‘डी’को खेलमा लात्भियाले अर्मेनियालाई २–० ले हराएको छ ।

त्यस्तै समूह ‘ई’मा अल्वानियाले चेक रिपब्लिकलाई ३–० ले पराजित गर्दा फारोई आइल्यान्डविरुद्ध पोल्याण्डले २–० गोल अन्तरको जीत दर्ता गरेको छ ।

यस्तै समूह ‘आई’मा एन्डोरालाई कोसोभोले ३–० ले हराउँदा बेलारुस र रोमानियाले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस