बागमती प्रदेशसभा बैठक:अचानक सूचना टाँसेर गरियो स्थगित

सफल खबर संवाददाता

मंगलबार, १६ असोज २०८०, १४ : ३५
बागमती प्रदेशसभा बैठक:अचानक सूचना टाँसेर गरियो स्थगित

मकवानपुर । मंगलबार बस्ने भनिएको बागमती प्रदेशसभा बैठक अचानक स्थगित गरिएको छ । बैठक दिउँसो २ बजे बस्ने कार्यतालिका थियो । तर बैठक बस्ने समय गुज्रिन थालेकै अवस्थामा प्रदेशसभा सचिवालयले बैठक स्थगित गरिएको सूचना टाँसेको हो ।

प्रदेशसभा बैठक बुधबार ४ बजे बस्ने जनाइएको छ । यद्यपि प्रमुख प्रतिपक्ष नेकपा एमालेले भने आफ्ना माग पूरा नभएसम्म बैठक सञ्चालन हुन नदिने अडान लिएको छ ।मंगलबारको बैठक पनि एमालेकै अडानका कारण स्थगित भएको हो । एमालेले सोमबार नै यथास्थितिमा बैठक सञ्चालन हुन नदिने प्रस्ट पारेको थियो ।

प्रदेश सरकारले ल्याएको प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रक्रिया मिचेर ल्याइएको भन्दै एमालेले विरोध गरेको हो । उक्त विधेयक प्रक्रियागत ढंगले ल्याउनुपर्ने एमालेको माग छ ।

प्रतिक्रिया दिनुहोस