नियामकको केही माइक्रोम्यानेजमेन्टले सेयर बजार प्रभावित भएको छ : अर्थमन्त्री महत

सफल खबर संवाददाता

सोमबार, १५ असोज २०८०, ११ : २१
नियामकको केही माइक्रोम्यानेजमेन्टले सेयर बजार प्रभावित भएको छ : अर्थमन्त्री महत

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ता शिक्षा र लगानीकर्ताको गुनासो सुनुवाइ गर्न एआईमा आधारित च्याटबट सञ्चालनमा ल्याएको छ । सोमबार विश्व लगानीकर्ता सप्ताहको अवसरमा धितोपत्र बोर्डले आयोजना गरेको एक कार्यक्रमका बीच अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त च्याटबटको सुरूवात गरे । उक्त च्याटबटले लगानीकर्ताको जिज्ञासा र गुनासो राख्ने सहज प्लाटर्फम सुरू भएको बताए ।

लगानीका नयाँ-नयाँ औजार विकास भएको र सूचना क्रान्तिले नयाँ अवसरसँगै चुनौति आएको बताउँदै उनले भने, ‘त्यससँगै हामीले आफूलाई पनि तयार राख्नुपर्छ । लगानीकर्तामा साक्षरता बढाएर सबै लगानीकर्तालाई सचेत बनाउन जरूरी छ ।’

नेपालमा सेयर बजारको जानकारी सीमित लगानीकर्तामा रहेको भन्दै उनले उनीहरूले खेल्ने र कमाउने तर आम लगानीकर्ता फस्ने अवस्था आउनसक्ने खतरा रहेको बताए ।नियामकको केही माइक्रोम्यानेजमेन्टले पनि बजार प्रभावित भएको बताउँदै उनले त्यसमा केही निर्णय आउने अपेक्षा गरेको बताए । साना लगानीकर्ताको लगानी सुरक्षित हुनुपर्ने र सही सूचना दिन जरूरी भएको बताए ।

कार्यक्रम स्वागत मनतव्य राख्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपालमा वित्तीय साक्षरता २० प्रतिशतभन्दा कम मात्रै रहेको जानकारी गराए । विश्व लगानीकर्ता सप्ताहको अवसरमा एक साता लगानीकर्ता सचेतनाका विभिन्न कार्यक्रम सञ्चालन हुने उनले बताए ।

लगानीकर्ताको गुनासो सुनुवाइ गर्न एआई बेस च्याटबट सुरू भएको जानकारी गराउँदै उनले यसमा लगानीकर्ताको गुनासो संकलन गर्ने र त्यसको सुनुवाइ गर्ने बताए । यसलाई छिटै पूर्णभर्सन सहित नेपाली माध्यममा पनि ल्याउने उनले बताए ।

वित्तीय साक्षरताका लागि एफएनसीसीआईसँग सम्झौता गरेर देशभर कार्यक्रम सञ्चालन गर्ने बताए ।यस्तै उनले प्राइभेट इक्विटी एसोसिएसनसँग सम्झौता गर्ने बताए । विशिष्टिकृत लगानी कोषको इजाजतपछि ३० अर्ब ५० करोडको कोष खडा भइसकेको उनले जानकारी दिए ।

लगानीकर्ता संरक्षणको लागि धितोपत्र बोर्ड स्वतन्त्र सञ्चालकको प्रोटोकल तयार गर्न लागेको र वाषिर्क रिपोर्टिङ स्ट्यान्डर्ड यही सन् २०२३ भित्रै लागू हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस