‘फास्ट ट्रयाक’ निर्माणको कामलाई पर्याप्त बजेट छ : अर्थमन्त्री महत

सफल खबर संवाददाता

आइतबार, १४ असोज २०८०, २१ : १०
‘फास्ट ट्रयाक’ निर्माणको कामलाई पर्याप्त बजेट छ : अर्थमन्त्री महत

बारा । अर्थमन्त्री डा.प्रकाशशरण महतले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि पर्याप्त बजेट विनियोजन भएकाले बजेटको अभावमा काम नरोकिने बताएका छन् ।

३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा जीतपुर सिमरा उपमहानगर वडा नं ७ मा संजीवनी बाटिका वृद्धाश्रम भवन समुद्घाटन कार्यक्रममा अर्थमन्त्री महतले द्रुतमार्ग निर्माणका लागि चाहिने जति बजेट उपलब्ध गराइएको बताए ।

‘द्रुतमार्गमा जति चाहिने बजेट हो, त्यति दिएका छौँ, बजेट बिना काम रोकिँदैन,’ अर्थमन्त्री महतले भने, ‘काम गर्न ढिलाइ भयो भने रोकिने हो, बजेट नपाएर रोकिँदैन ।’

मन्त्री महतले बारामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनै पर्ने पनि प्रस्ट पारे । ‘पोखराभन्दा पहिला यहाँ बनाउनु पर्थ्यो, तर यहाँ सहर बनाउने कुरा उठ्यो, यहाँ सहर बनाउन आवश्यक छैन, पहिला विमानस्थल बनाउने हो,’ उनले भने ।

अर्थमन्त्रीले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणको प्रयोजन बाहेक सहर बस्नका लागि जग्गा अधिग्रहण नगर्ने पनि प्रस्ट पारे । ‘सहर बसाउनका लागि हामीले जग्गा लिने काम छैन, जति एयरपोर्टका लागि आवश्यक छ, त्यतिमात्रै लिएर एयरपोर्टको कामलाई अगाडि बढाउने हाम्रो प्राथमिकता हो,’ अर्थमन्त्री महतले भने, ‘समग्र यो क्षेत्रको विकासका लागि मन, बचन र कर्मले लाग्छौँ ।’

अर्थमन्त्री महतले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले बारा, रौतहट, सर्लाही, धनुषा र महोत्तरीका केही क्षेत्रको विकासमा ठुलो टेवा पु¥याउने बताए ।

प्रतिक्रिया दिनुहोस