परदेशी–२ को बागलुङमा ‘विशेष शो’ हुने

सफल खबर संवाददाता

शुक्रबार, १२ असोज २०८०, ११ : ४४
परदेशी–२ को बागलुङमा ‘विशेष शो’ हुने

बागलुङ। नेपाली चलचित्र परदेशी–२ को बागलुङमा आज (शुक्रबार) ‘विशेष शो’ हुने भएको छ।  चलचित्रका नायक प्रकाश सपुतले गृह जिल्ला बागलुङमा ‘विशेष शो’ गर्न लागेको जानकारी दिएका छन्। 

सपुतले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो पहिलो चलचित्र भएकोले निर्देशक नारायण रायमाझी र निर्माता राजेश वंशल लगायतको टिमले बागलुङमा चलचित्रको ‘विशेष शो’ गर्ने निर्णयले उत्साहित भएको बताएका छन्।  

बागलुङको बिएसआर मुभिजमा दिउँसो ३ बजे विशेष शो हुने भएको हो। विशेष शोको लागि परदेशी–२ का निर्देशक नारायण रायमाझी, नायिका केकी अधिकारी, नायक प्रकाश सपुत लगायतको टोली शुक्रबार दिउँसो बागलुङ आउन लागेको बताइएको छ।

विशेष शोको लागि शुक्रबार दिउँसो २ बजेबाट टिकट खुल्ला गरिने बिएसआर मुभिज बागलुङले जनाएको छ। व्यवसायिक मर्यादा कायम रहोस् भनेर केही सिमित सिटको लागि टिकट बुकिङ खुल्ला गरिएको नायक सपुतले जानकारी दिए।

विशेष शो अगाडि नायक सपुतसहित चलचित्रको टिमलाई बागलुङमा स्वागत गरिने भएको छ। सपुतको जन्मगाउँ काठेखोला गाउँपालिका–३ धम्जाका स्थानीय र बागलुङ बजारबासीले नायक सपुत लगायत परदेशी–२ को टिमलाई स्वागत गर्ने कार्यक्रम रहेको पत्रकार दिल शिरिषले जानकारी दिए।

वरिष्ठ लोक तथा दोहोरी गायक नारायण रायमाझी निर्देशित परदेशी–२ असोज २६ गतेबाट देशभर प्रदर्शनमा आउँदै छ। उच्च शिक्षाका लागि विदेशिने क्रम बढ्दो कथालाई चलचित्रको मुख्य भागमा राखिएको निर्देशक नारायण रायमाझीले जानकारी दिए। 

युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित चलचित्रलाई रमेश बिजीले लेखेका हुन्। प्रकाश, केकी र वर्षा सिवाकोटीका साथमा चलचित्रमा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ। प्रकाशको यो डेब्यु चलचित्र हो। 

प्रतिक्रिया दिनुहोस