रुकुम पश्चिममा आयोडिनयुक्त नुन प्रयोगकर्ताको सङ्ख्या बढ्यो, आयात घट्यो

सफल खबर संवाददाता

शुक्रबार, १२ असोज २०८०, ११ : १७
रुकुम पश्चिममा आयोडिनयुक्त नुन प्रयोगकर्ताको सङ्ख्या बढ्यो, आयात घट्यो

रुकुम पश्चिम। रुकुम पश्चिममा पछिल्लो समय आयोडिनयुक्त नुन प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ । जिल्लाका ६ वटै स्थानीय तहमा आयोडिनयुक्त नुन प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपो कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

कार्यालयका अनुसार जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० मा छ हजार क्विन्टल नुन बिक्री भएको थियो । हाल जिल्लाको मुसीकोट नगरपालिकाको सेरिगाउँ र चौरजहारी नगरपालिकाको चौरजहारी वितरण केन्द्रबाट नुनको बिक्री हुँदै आएको डिपो कार्यालयको प्रमुख पूर्णराज गौतमले जानकारी दिए ।

उनका अनुसार गत आवमा सेरिगाउँबाट चार हजार नौ सय ५१ र चौरजहारी वितरण केन्द्रबाट नौ सय २० क्विन्टल नुन बिक्रीवितरण भएको थियो । माग गरेकोभन्दा एक हजार पाँच सय क्विन्टल नुन गत आवमा कम आएको कार्यालयले जनाएको छ । ​चालु आवका लागि पनि जिल्लामा माग गरेको भन्दा झन्डै आधा साढे चार हजार क्विन्टल मात्र नुन आएको छ ।

जिल्लामा एक वर्षमा झण्डै आठ हजार आयोडिन नुन प्रयोग हुने भए पनि चार हजार पाँच सय क्विन्टल मात्र नुन उपलब्ध भएको कार्यालय प्रमुख गौतमले जानकारी दिए । चालु आवका लागि डिपो कार्यालय सेरिगाउँलाई तीन हजार सात सय र चौरजहारी वितरण केन्द्रलाई आठ सय क्विन्टल आयोडिनयुक्त नुन उपलब्ध भएको उनले बताए । 

आव २०७९/०८० को भन्दा चालु आवमा जिल्लामा नुनको कोटा घटेर आएको छ । कार्यालय प्रमुख गौतमले नुन कोटा बढाउन आग्रह गरे । सेरिगाउँबाट हरेक हप्ताको आइवार र बिहीवार तथा चौरजहारी वितरण केन्द्रबाट हरेक महिनाको ५ र ६ गते नुन बिक्री हुँदै आएको छ । 

प्रतिकिलो रु ९ का दरले आयोडिनयुक्त नुन बिक्री गर्दै आइरहेको कार्यालयले जनाएको छ । मुसीकोट नगरपालिका–५ का बेचु खत्रीले आयोडिन नुन प्रयोग गर्ने गरेको बताए।

प्रतिक्रिया दिनुहोस