सेयर बजारमा दोहोरो अंकको गिरावट, १ अर्ब ८१ करोडको कारोबार

सफल खबर संवाददाता

बुधबार, १० असोज २०८०, १५ : २८
सेयर बजारमा दोहोरो अंकको गिरावट, १ अर्ब ८१ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा पुनः गिरावट आएको छ। मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लचकता आउने विश्वासले उछाल आएको बजारमा बुधबार निराशा छाएको हो। आज विहान बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समिति बैठकमा यस्तो कर्जासम्बन्धी ‘१२ करोड’को व्यवस्था पुनरावलोकनबारे छलफल हुने अपेक्षा गरिएको थियो। तर, छलफल नभएपछि बजारले विकास गरेको मनोवल खस्किएको देखिन्छ।

जसको संकेत बुधबारको बजारले देखायो। नेप्से परिसूचक १९.९८ अंकले घटेर २००२.९२ अंकमा आइपुगेको छ। बजार ०.९८ प्रतिशतले ओरालो लाग्ने क्रममा कारोबारमा आएका २८२ स्क्रिप्टमध्ये १९३ वटाको मूल्य घटे। ३४ वटा स्क्रिप्टको मूल्यमा भने सुधार आएको छ।

कारोबार सुरु भएको केही समय स्थिर रहेर नेप्से निरन्तर घटेको हो। बुधबारको बजारमा ७० लाख ६१ हजार कित्ता सेयर १ अर्ब ८१ करोड ४३ लाख ५९ हजार कित्ता सेयर किनबेच भए। सबैभन्दा बढी कारोबार सन नेपाल लाइफको भयो। कम्पनीको ७ करोड ६२ लाख रुपैयाँको सेयर किनबेच हुँदा ६ करोड १९ लाख रुपैयाँसहित एनआईसी एसिया दोस्रो स्थानमा रह्यो। यस्तै रिलायबल लाइफ, शिभम् सिमेन्ट र नागरिक लगानी कोषको सेयर किनबेचमा पनि लगानीकर्ताको सक्रियता देखियो।

नेप्से घटेपनि मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर मूल्यमा सर्वाधिक वृद्धि भयो। लक्ष्मी भ्यालु फन्ड २ को मूल्यमा ऋणात्मक सर्किट लाग्दा शुभम पावरको मूल्य करिब १० प्रतिशतले घट्यो । दिनभर कुल ५८ हजार ३ सय ६७ कारोबार भए। कारोबार संख्याका आधारमा सन नेपाल लाइफ शीर्ष स्थानमा रह्यो।

बुधबार कारोबारमा आएका सबै समूहगत उपसूचक घटे। जलविद्युत् समूहमा सर्वाधिक १.५१ प्रतिशतको गिरावट आयो। यस्तै वित्त समूह १.४२ प्रतिशतले घट्यो। 

प्रतिक्रिया दिनुहोस