चाडपर्व लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर

सफल खबर संवाददाता

मंगलबार, ०९ असोज २०८०, ०६ : ३९
चाडपर्व लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर

काठमाडौ । चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले नजिकिँदो चाडपर्वलाई लक्षित गरी आवश्यक सुरक्षा प्रबन्धसहित सुरक्षा योजना तयार पारी लागू गर्न सर्कुलर जारी गरेको जानकारी दिए ।

उनका अनुसार चाडपर्वमा घटना, दुर्घटना तथा आपराधिक गतिविधि रोक्ने गरी सुरक्षा व्यवस्थालाई चुस्त–दुरुस्त पार्ने गरी सुरक्षा योजना बनाएर लागू गर्न भनिएको हो ।

विशेष सुरक्षा योजना लागू भएपछि साविकभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिन्छ भने सम्भावित जोखिम क्षेत्रको पहिचान गरी चोरी तस्करीलगायत आपराधिक क्रियाकलापहरू रोक्न प्रहरीलाई चुस्त रूपमा परिचालन गर्ने गरिन्छ । 

प्रवक्ता कडायतले केन्द्रीय सुरक्षा योजनासहित युनिटहरूले समेत आ–आफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी अब छिट्टै लागू गर्ने पनि बताए । चाड पर्वमा रिजर्भ रहेको फोर्सलाई समेत परिचालन गरी साविकभन्दा सुरक्षाकर्मीको सङ्ख्या बढाइने बताए । चाडबाडलाई सुरक्षित र शान्तिपूर्ण बनाउन प्रहरी अहोरात्र खटिने पनि उनले बताए । 

प्रतिक्रिया दिनुहोस