अवैध मदिरासहित पाँच जना भारतीय नागरिक पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०७ असोज २०८०, १६ : १९
अवैध मदिरासहित पाँच जना भारतीय नागरिक पक्राउ

मकवानपुर । हेटौंडाबाट अवैध मदिारासहित ५ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भन्सार छली ल्याइएको ८५५ बोतल विभिन्न ब्राण्डका मदिरासहित उनीहरुलाई हेटौंडा–१५ रातोमाटे चौकीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको पश्चिमी दिल्ली बस्ने वर्ष २७ का विक्की, वर्ष २५ का राहुल, वर्ष २८ का कुनाल, वर्ष ३१ का नहिम र वर्ष ३७ का राजु छन् ।गत असोज ५ र ६ गते २ वटा कारमा फल्स बटम बनाएर मदिरा ल्याएको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

उनका अनुसार असोज ५ र ६ प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट खटिएको प्रहरी टोलीले चेकपोष्ट अगाडि सडकमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा अवैध मदिरा बरामद गरिएको थियो ।

 

चितवनबाट हेटौंडा हुँदै वीरगञ्जतर्फ जाँदै गरेको अवस्थामा डीएल २ सीएके १३९० र डीएल २ सीएके ७२७३ नम्बरको भारतीय कारलाई शंका लागि चेकजाँच गर्ने क्रममा भन्सार छलेर ल्याइएका रोयल ग्रीन ह्विस्की ३७५ एमएलका ७१५ बोतल र १८० एमएलका १४० बोतल बरामद भएको उनले बताए ।

बरामद मदिरासहित कार र पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको उनले बताए ।

भारतको हरियाणाबाट उत्पादित उक्त मदिरा नवलपरासीको नाकाबाट नेपाल भित्रिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार नवलपरासीबाट चितवन हुँदै हेटौंडा आइपुगेको उक्त कारको डिक्कीमा फल्स बटम बनाइ मदिरा ढुवानी गरिएको थियो ।

भारतको बिहारमा मदिराजन्य पदार्थ बन्देज भएकाले नेपालको बाटो हुँदै रक्सौल नाकाबाट उक्त मदिरा भारतको बिहार पु¥याउने योजना रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । 

प्रतिक्रिया दिनुहोस