प्रधानमन्त्री दाहाल चिनियाँ उच्चस्तरीय भेटवार्ता र विभिन्न कार्यक्रममा व्यस्त

सफल खबर संवाददाता

आइतबार, ०७ असोज २०८०, ०७ : १८
प्रधानमन्त्री दाहाल चिनियाँ उच्चस्तरीय भेटवार्ता र विभिन्न कार्यक्रममा व्यस्त

काठमाडौँ । साताव्यापी भ्रमणका लागि हिजो चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चीनको राजधानी बेइजिङ पुग्ने कार्यक्रम रहेको छ । 
बेइजिङमा आज हुने नेपाल–चीन बिजनेस समिटको कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सीसीपीआईटीले सो सम्मेलनको आयोजना गरेका छन् ।

उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी रहने जनाइएको छ । उक्त सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ ।

आज नै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।

त्यस्तै प्रधानमन्त्री दाहालले चीनको नेशनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग भेटवार्ता गर्नेछन् । भोलि नै प्रधानमन्त्री दाहालले चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । सोही दिन नेपाल चीनका विविध सहयोग सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

उक्त द्विपक्षीय भेटवार्ता र दुई देशबीचको सहयोग सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री दाहाल चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन गर्ने कार्यक्रम छ ।

उक्त महानगरमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणालीबारे प्रधानमन्त्रीले जानकारी लिने छन् ।

प्रधानमन्त्री दाहाल नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा पनि जाने कार्यक्रम छ । तिब्बतमा रहँदा उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित यही असोज १३ गते नेपाल फर्कने कार्य तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस