राष्ट्रिय सभा समावेशी चरित्रको हुनुपर्छ : अध्यक्ष प्रचण्ड

शुक्रबार, ०७ पुस २०७४, १६ : २९
राष्ट्रिय सभा समावेशी चरित्रको हुनुपर्छ : अध्यक्ष प्रचण्ड


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभा समावेशी चरित्रको हुनुपर्ने बताएका छन् । नेपाल प्रेस सेन्टर चितवन शाखाले शुक्रबार दिउँसो भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुको जिज्ञासा शान्त पार्दै प्रचण्डले यस्तो बताएका हुन् ।

राष्ट्रिय सभा समानुपातिक र समावेशी चरित्रको हुनुपर्छ, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, राष्ट्रिय सभाको विषयमा अहिले पनि प्रमुख तीन दलबीच छलफल चलिरहेको छ । आज प्रधानमन्त्रीले बोलाउनु भएको बैठकमा पनि यस विषयमा कुराकानी भयो, तर सहमति जुट्न सकेन । छलफल आवश्यक छ, भइरहनु पर्छ ।

राष्ट्रिय सभा र प्रतिनिधि सभा मिलाएर संघीय संसद बन्ने बताउँदै प्रचण्डले संघीय संसदमा एकतिहाई महिला सदस्य चाहिने संवैधानिक प्रावधान रहेको उनले बताए । राष्ट्रिय सभा गठन गर्ने विधि बहुमतीय प्रणालीभन्दा एकल संक्रमणीय प्रणाली बढी समावेशी हुने उनको भनाइ थियो । उनले संविधानमा प्रष्ट शब्दमा कुनै एक प्रणाली उल्लेख नहुँदा अहिले राष्ट्रिय सभा गठनमा जटिलता आएको बताए ।

फरक प्रसंगमा बोल्दै प्रचण्डले वाम गठबन्धनअघि पार्टी एकताका लागि बनाइएको पार्टी एकता संयोजन समितिको शनिबार बैठक बसेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता गर्ने विषय टुंग्याइने बताए । उनले संयोजन समिति गठनका बेला चुनावपछि प्रधानमन्त्री र पार्टी अध्यक्ष पदमा आलोपालो प्रणाली अपनाउने भद्र सहमति भएको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार आफूलाई फोन गरेर बधाई दिनुभएको र अन्य विषयमा केही कुराकानी नभएको प्रचण्डले बताए । उनले तीन पार्टीका प्रमुखलाई भारतीय प्रधानमन्त्री मोदीले फोन गरेर बिहीबार बधाई दिनु र शनिबार प्रधानमन्त्रीले प्रमुख पार्टीको बैठक बोलाउनुबीच कुनै सम्बन्ध नरहेको स्पष्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस