तस्करको जुगाड : चामलको बोरामा २२ क्वीन्टल चिनी

सफल खबर संवाददाता

सोमबार, ०१ असोज २०८०, १५ : ३०
तस्करको जुगाड : चामलको बोरामा २२ क्वीन्टल चिनी

भैरहवा । सुरक्षाकर्मी र भन्सार चोरी तस्करी नियन्त्रण गर्न आक्रमक बन्दा तस्करहरुले तस्करी गर्ने शैलीमै  परिवर्तन गर्ने गरेको पाइएको छ । अनेकन उपाय लगाउँदै तस्करहरुले तस्करी गरे पनि तस्करी न्यूनिकरणमा लागेको सुरक्षा निकाय सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारले ती उपायलाई पनि विफल बनाउदै आएका छन् ।

वर्षौंदेखि सामान्य रुपमा गर्दै आएको तस्करहरुले अहिले सिमावर्ती क्षेत्रमा नियामक निकाय कडा रुपमा प्रस्तुत हुँदा तस्करी गर्ने तरिकामा नै बदलाब आउने गरेको छ । भन्सारमा एक बस्तुको प्रज्ञापन भरी अर्को बस्तुको भन्सार जाँच पास गराउन खोज्नु, कीर्ते कागजमा ट्रक नै पास गर्न खोज्नु जस्ता घटनाहरु बाहिरिए पनि तस्करहरुले अनेक उपाय अपनाइरहेका छन । पछिल्लो समय कति पयले तस्कर पेशा नै छाडेका छन् भने कति यस क्षेत्रबाट पलायन भइसकेका सुरक्षा निकायको रिर्पोट छ । 

गत शनिबार रुपन्देहीको सिद्धार्थनगर–८ बाट सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेड क्वाटरले रुपन्देहीको टिमले चामलको बोरामा चिनी बरामद गरेको छ । केही समय पहिला मलको बोरामा चिनी ओसारप्रसार भएको घटना बाहिरिए पनि शनिबारको घटनामा नेपाली चामलकै बोरामा अवैध रुपमा चिनी भित्रिएको पाइएको हो ।

चामलको बोराभित्र चिनी राखेर सिलबन्दी गरेर ल्याउने गरेको खुलेको छ । सावा मन्सुली, स्टीम राइस लगायतका ३ दर्जन बढि बोरामा चिनी प्याकिङ गरी लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरी उपरीक्षक दिपक थापासहितको टिमले नियन्त्रणमा लिएको छ ।

नेपाली चामल उत्पादकको बोराहरुमा प्याकिङ गरी लैजाँदै गरेको अवस्थामा अवैध रुपमा भित्रिएको २२ क्वीन्टल चिनी सिद्धार्थनगर –८, मायादेवी बजार नजिकैबाट नियन्त्रणमा लिएको एसपी थापाले जानकारी दिए ।

२५ किलो र ५० किलोको विभिन्न चामलको बोरामा चिनी लैजाँदै गरेको विशेष सूचना हामीलाई आएको थियो, सोही सूचनाको आधारमा गएको टोलीले शनिबार दिउँसाे करिब ३ बजे नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको एसपी थापाले जानकारी दिए । 

केही महिनाअघि यसै प्रकृतिको घटना मर्चवार लगायतको क्षेत्रबाट मलको बोरामा चिनी फेला परेको थियो । दैनिक उपभोग्य बस्तु धान, चामल अन्न र मलहरु ल्याउँदा सीमामा खटिएको टोलीले मानवीयताको नाताले केही खुकुलो बनाएको छ । सोही मौकामा तस्करहरुले सो को फाइदा उठाउँदै अन्न र मलको बोरामा चिनी भरेर ल्याउने गरेको पाइएको एक प्रहरी अधिकृतले भने ।

एक बस्तुको बोराभित्र फरक बस्तु राखेर प्याकिङ गरेमा उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार उक्त बोरामा लेबलिङ गर्नुपर्छ, तर बरामद चामलको बोरामा कुनै प्रकारको लेबलिङ भने फेला परेको छैन । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) अनुसार पसल सञ्चालकलाई जरिवाना गर्ने व्यवस्थासमेत रहेको छ । 

भारतले चिनी निर्यातमा रोक लगाएकाले पनि दैनिक उपभोग्य वस्तुको रूपमा अवैध चिनी रुपन्देही हुँदै भित्रिने र बाहिरी जिल्लामा जाने गरेको छ । सुरक्षाकर्मीको आँखा छलेर चामलको नाममा ती चिनी नेपाल भित्रिएको हुन सक्छ । हुन त तस्करी रोकिएको छैन भन्ने पुष्टि दैनिक बरामद अवैध चोरी पैठारीको सामानबाट पनि पुष्टि हुन्छ ।

तस्करी न्यून पार्ने अभियानमा लागेको सुरक्षा निकायकै केहीको संलग्नतामा विभिन्न नाकाबाट अझै पनि तस्करी भइरहेका छन् । विभिन्न चौकी र चेकपोस्ट पार गरि बजारमा आएर अवैध सामान बरामद हुनु भनेको सुरक्षाकर्मीकै मिलेमतो छ भन्ने स्पष्ट छ । 

प्रतिक्रिया दिनुहोस