बेरुजु सम्परीक्षण गर्न सार्वजनिक लेखाद्वारा ९ उपसमिति गठन

सफल खबर संवाददाता

आइतबार, ३१ भदौ २०८०, १४ : ५७
बेरुजु सम्परीक्षण गर्न सार्वजनिक लेखाद्वारा ९ उपसमिति गठन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले बेरुजु सम्परीक्षण गर्नका लागि ९ वटा उपसमिति गठन गरेको छ ।  विभिन्न मन्त्रालय, संवैधानिक आयोग र अन्य सरकारी निकायको बेरुजु सम्परीक्षण गर्नका समिति गठन गरिएका हुन् । 

लेखा समितिको आइतबारको बैठकमा समिति सभापति ऋषिकेश पोखरेलले उपसमिति गठन र तिनका संयोजकको नाम प्रस्ताव गरेका थिए । लेखा समितिले केही हेरफेरसहित उक्त प्रस्ताव पारित गरेको छ । सार्वजनिक लेखा समिति मातहतका उपसमितिले महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा देखिएका बेरुजुको सम्परीक्षणको काम गर्नेछ । महालेखापरीक्षकको कार्यालयले फर्छ्यौट हुन नसक्ने भनेर लेखी पठाएको अवस्थामा संसदीय समितिले सम्परीक्षण गरेर असुल उपर गर्ने विषयमा उपसमितिहरूले अध्ययन गर्नेछन् । सार्वजनिक लेखा समितिमा उपसमितिहरू संसद्को कार्यकालभर क्रियाशील रहने अभ्यास छ ।

समिति सभापति पोखरेलले ९ वटै उपसमितिहरूले छिट्टै बैठक बसेर आ-आफ्ना कामको सुरुआत गर्ने बताइएको छ ।  ९ मध्ये ३ उपसमितिका संयोजकमा काँग्रेस, २ उपसमितिका संयोजकमा एमाले सांसद रहेका छन् । माओवादी केन्द्र, रास्वपा, राप्रपा र जसपाले १-१ उपसमितिको संयोजक पाएका छन् ।

काँग्रेसबाट उपसमिति संयोजकमा अर्जुननरसिंह केसी, राजेन्द्रकुमार केसी र रामकृष्ण यादव रहेका छन् । एमालेबाट गोकुलप्रसाद बाँस्कोटा र दामोदर भण्डारी उपसमिति संयोजक रहेका छन् । माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट मनिष झा, राप्रपाबाट राजेन्द्र लिङ्देन र जसपाबाट प्रदीप यादव उपसमितिका संयोजक बनेका छन् ।

प्रतिक्रिया दिनुहोस