अर्थतन्त्रमा सुधारको नतिजा देखिन केही समय आवश्यक छ : अर्थमन्त्री महत

सफल खबर संवाददाता

विहीबार, २८ भदौ २०८०, १४ : ४५
अर्थतन्त्रमा सुधारको नतिजा देखिन केही समय आवश्यक  छ  : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रमा गरिएका सुधारको नतिजा देखिन केही समय लाग्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिसँगको अन्तरक्रियामा अर्थमन्त्री महतले यस्तो बताएका हुन् । ‘पेनफुल छ, स्लो छ, तर पोजेटिभ डिरेक्सनमा छ’, उनले भने, कार्यान्वयनमा केही तगारो पनि छन्, त्यसकारण अपेक्षाअनुसार नतिजा देखिन समय लाग्छ ।’

आफूले इमानदारसाथ आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको भन्दै उनले सबै सरोकारवाला निकायले आफ्नो जिम्मेवारी पूरा गर्दा विद्यमान समस्याबाट माथि उठ्न समय नलाग्नेमा जोड दिए । अहिले रेमिटेन्स बढेको भए पनि पुँजीबजार तथा घरजग्गामा समेत लगानी आउन नसक्नुको कारण लगानीकर्तामा रहेको हिचकिचावट रहेको उनले बताए । बाहिर जसरी प्रचार भइरहेको छ, त्यसले लगानीकर्तामा हिचकचाहट देखिन्छ, द्विविधा देखिन्छ, यसबाट लगानी आउन नसकेको उनको भनाइ छ ।

विगतमा लिएका लचिला नीतिहरूका कारण अधिक र अनुत्पादक क्षेत्रमा प्रवाह भएको कर्जा अहिले समस्यामा परेको भन्दै उनले यो अवस्था आउनुमा लिने मात्र दोषी नभएर दिने समेत हुने बताए । हिजो इजि मनी हुँदा जति पनि लगानी गरिए पनि त्यसको प्रतिफल नआउँदा लगानीकर्ताले नयाँ लगानी गर्न नसकेको भन्दै उनले जति माग्यो, त्यति पैसा दिँदै गर्दा त्यसको सही उपयोग भयो वा भएन भनेर विगतमा हेर्न नसक्नु नै कमजोर भएको उनले बताए । राजस्वमा देखिएका समस्याबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने तयारी रहेको जानकारी दिँदै उनले बजेट व्यवस्थापनका लागि समेत कार्यविधिहरू बनिरहेको बताए ।

आत्मविश्वास बढाउनु जरुरी

उनले अर्थतन्त्र चलायमान बनाउन आत्मविश्वास बढाउन जरुरी रहेको समेत बताए । अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको भन्दै यसमा राष्ट्र बैंकले लिने नीतिहरूको ठूलो भूमिका रहने बताए । राष्ट्र बैंकले धेरै नै माइक्रो लेवलमा कस्न खोज्दा पनि लगानीकर्ता हच्किएको अवस्था हो, उनले भने, ‘अर्कोतर्फ बढी नेगेटिभ प्रचारले समेत आत्मविश्वास बढाउन नसकेको हो । निजी क्षेत्रको छलफलमा आफूले जहाँ समस्या छ, त्यसको सम्बोधनमा ध्यान दिऊँ तर नकारात्मक प्रचार नगरौं भनेर आग्रह गरेको समेत उनले जानकारी दिए ।

युवालाई अवसरै अवसर

अर्थमन्त्री महतले नेपालबाट प्लस टु पास गरेर ठूलो संख्यामा विद्यार्थी बिदेसिनु सुखद ट्रेन्ड नभएको बताए । नेपालमा अवसर नै छैन भन्ने भाष्य बनाएर यसरी युवा विदेसिने गरेको प्रवृत्तितर्फ इङ्गित गर्दै नेपालमा कहाँ अवसर जुटाउन सकिन्छ भनेर अनुसन्धान नै नगर्ने परिपाटी गलत भएको बताए ।

प्रतिक्रिया दिनुहोस